काठमाडौं । जेन-जी आन्दोलनका कारण एक सातादेखि ठप्प भएको सार्वजनिक यातायात बिस्तारै लयमा फर्किएको छ।
आइतबारदेखि अधिकांश सार्वजनिक यातायात सञ्चालनमा आएका छन् भने बजार र पसल पनि खुलेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दिवा र रात्री बस आजदेखि नियमित छुट्नेछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्थानीय सरकारसँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालन गरेको जनाएको छ। काठमाडौँ उपत्यकामा गत मङ्गलबारदेखि ठप्प रहेको सार्वजनिक यातायात साधन हिजोदेखि आंशिक रूपमा सञ्चालन आएका थिए भने आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएका हुन् ।
जेन-जी आन्दोलनले सोमबार प्रदर्शन गर्दा नयाँबानेश्वर वरपरबाहेकका क्षेत्रमा सार्वजनिक सवारीसाधन चलेका थिए। मङ्गलबारदेखि भने ठप्प थियो। शनिबार बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले सावर्जनिक सवारी क्षेत्र सामान्य बन्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यसैबीच, दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा सरोकारवालाबीच छलफल हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको हो ।