काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा भइरहेको ‘जेन-जी’को भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो।
ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसीमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, इटहरीमा प्रहरीले गोली चलाउँदा थप दुई जनाको ज्यान गएपछि मृत्यु संख्या १९ पुगेको हो।
हालसम्म ३४७ जना घाइते भएका छन्। सिभिल अस्पतालमा १००, एभरेस्टमा १०२, ट्रमामा ५९, केएमसीमा ३७, वीर अस्पतालमा ६, पाटनमा ४, त्रिवि शिक्षणमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थामा छन् भने ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका अनुसार ट्रमामा १० जना गम्भीर घाइते छन्, जसको टाउको र छातीमा गोली लागेको छ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली प्रयोग गरेको थियो। भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा ‘जेन-जी’ युवा काठमाडौंसहित देशका प्रमुख शहरमा सडकमा उत्रिएका छन्।
अहिले पनि बानेश्वर-तीनकुने क्षेत्र तनावग्रस्त छ । प्रहरी र प्रदर्शनकारीबीच पटक-पटक झडप भइरहेका छन् । स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर, सिंहदरबार, तीनकुने, शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
यसैगरी राष्ट्रपति निवास परिसरलगायतका संवदेनशील क्षेत्रमा पनि प्रशासनले कर्फ्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा कर्फ्यु थप गरेको हो ।
कर्फ्यु जारी भए पनि बानेश्वर क्षेत्रमा अहिले पनि प्रदर्शन जारी छ । जेन-जीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भए पछि सेना परिचालन भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यु जारी गरी सेना परिचालन गरिएको हो ।
प्रदशर्नकारीले संसद् भवनलाई चारैतिरबाट घेराउ गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाउन अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ । प्रदर्शनकारीहरु नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
त्यसक्रममा दुवै पक्षबीच झडप भएको थियो भने केही प्रदर्शनकारीहरु संसद् भवनभित्र समेत प्रवेश गरेका थिए । जेन-जीको भीड नियन्त्रणमा लिन प्रहरीले अश्रु्ग्यास प्रहार गरेको थियो ।
माइतीघरबाट गएको र्यालीले बानेश्वरमा राखिएको ब्यारीकेड तोडेपछि प्रहरी रक्षात्मक बनेको थियो । प्रहरीले सुरुमा पानीको फोहरा फ्याँकेको थियो भने त्यसले पनि भीड नियन्त्रण नभएपछि अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेपछि अवस्था झन् तनावग्रस्त बनेको थियो ।