संखुवासभा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीले संखुवासभा जिल्लाको सुरक्षा अवस्था, पूर्वाधार र पर्यटन सम्भावनाबारे विशेष चासो देखाउनुभएकाे छ।
मंगलबार खाँदबारी आइपुगेका डिआईजी कार्कीले जिल्लामा सुरक्षा व्यवस्थासँगै सामाजिक अपराध नियन्त्रण, लागू औषध दुरूपयोग र विदेशी नागरिकको निगरानीबारे सरोकारवालासँग छलफल गर्नुभएकाे हाे ।
कार्कीले प्रहरी संगठनमा पछिल्ला वर्षमा दरबन्दी, पूर्वाधार र प्रविधि क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी गर्दै सुरक्षित समाज निर्माणमा प्रहरी मात्र नभई सबै तहको सहभागिता आवश्यक रहेको बताउनुभयाे। 'प्रहरीलाई सबैको सहयोग जरूरी छ, उहाँले भन्नुभयाे, समाजलाई अप्ठेरो नपर्ने गरी होटल रातभरी सञ्चालन गर्दा समस्या छैन, तर गुनासो आउने वा झैझगडा भए कानुनी कारबाही हुन्छ ।'
उहाँले संखुवासभा पर्यटनका दृष्टिले निकै सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै, यहाँका सडक, नाका र भौगोलिक अवस्थाले सुरक्षालाई अझ संवेदनशील बनाएको बताउनुभयाे। किमाथांकाखाँदबारी सडक खण्ड र किमाथांका नाकाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै उहाँले त्यहाँका सुरक्षा चासोबारे सरोकारवालासँग छलफल गर्नुभयाे। विकट भौगोलिक स्थिति, सञ्चार सेवाको अभाव र ठूला आयोजनाको उपस्थितिले जिल्लालाई थप संवेदनशील बनाएको उहाँले स्पष्ट पार्नुभयाे।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पनि संखुवासभामा अरूण तेश्रो लगायत ठूलासाना जलविद्युत आयोजना सञ्चालनमा रहेकाले सुरक्षाप्रति सतर्क रहनुपर्नेमा जोड दिनुभयाे। 'देश बाहिरबाट आएका विदेशी नागरिकको निगरानी, लागू औषध नियन्त्रण र घरेलु हिंसा नियन्त्रणतर्फ विशेष ध्यान दिन जरूरी छ,उहाँले भन्नुभयाे, प्रहरीको चेकजाँचलाई नागरिकले झन्झट नभई सुरक्षाकै हिस्सा मान्नुपर्छ ।'
शहरी क्षेत्र विस्तारसँगै लागू औषध प्रयोगकर्ता बढ्दो क्रममा रहेको भन्दै स्थानीय सरोकारवालाले यसको न्यूनिकरणका लागि कडा कदम चाल्न माग गरेका थिए। यस्तै, जवरजस्ती करणी जस्ता संवेदनशील अपराधका घटना बढेकाले प्रहरीसँगै समुदायले पनि जनचेतनामूलक गतिविधि अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिए। जिल्लाभरी सीसी क्यामरा विस्तार गर्नुपर्ने माग पनि उठाइएको थियो।
छलफलमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय निकाय, व्यवसायी, पत्रकार तथा पूर्व प्रहरीहरुको समेत सहभागिता रहेको थियो।
डिआईजी कार्कीले संखुवासभामा सुरक्षा व्यवस्थालाई अझ चुस्त बनाउन, नागरिक–प्रहरी सहकार्यलाई मजबुत बनाउन र जिल्लाको पर्यटन तथा विकास सम्भावना उपयोग गर्न प्रदेश प्रहरी प्रतिबद्ध रहेको बताउनुभयाे।