दोलखा र रामेछापको संगमस्थल सैलुङ रमणीय पर्यटकीयस्थल बन्दै, हिन्दू र बौद्ध धर्मावलम्बीको सधैँ भीड

श्रावण ३१, २०८२ |कमला पाख्रिन
दोलखा र रामेछापको संगमस्थल सैलुङ रमणीय पर्यटकीयस्थल बन्दै, हिन्दू र बौद्ध धर्मावलम्बीको सधैँ भीड

सिन्धुपाल्चोक । शैलुङ प्राकृतिक रूपमा बनेका सय थुम्काको सङ्गम हो । समुद्र सतहदेखि ३३ सय उचाइमा रहेका शैलुङ अहिले कहिले घामसँग त कहिले कुहिरोसँग लुकामारी खेल्छ । 

गलैंचा झै देखिने प्राकृतिक हरियो दुबोले आगन्तुकलाई शैलुङमा स्वागत गर्छ । अनि विभिन्न जातका फूलले पर्यटकको सत्कार गरिरहेको हुन्छ । शैलुङलाई बौद्ध धर्मावलम्बीले बुद्धले पाइला टेकेको पवित्र भूमि र हिन्दू धर्मावलम्बीले भगवान् शिवको तपो भूमि भएकाले यो हिन्दू र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल पनि हो । 

यसको साथै सुन्दर पर्यटकीय स्थल पनि हो । शैलुङको डाँडामा चरिरहेको चौंरी र घोडा र त्यहाँको वातावरणले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । शैलुङको आकर्षणले आफ्नो ठाउँको पर्यटन विकास गर्नका लागि यहाँको अवलोकन गर्न अन्य स्थानीय तहका जनप्रतिनिधि पनि पुग्ने गरेका छन् ।

दोलखाको कालापानीमा, गाउ“पालिकाले शैलुङडाँडा पुग्न नपाउँदै चीनको ग्रेटवालको झल्को दिने ढुङ्गाको सिँढीसहितको पर्खाल निर्माण गरिएको छ । यस संरचनाले शैलुङ क्षेत्रको सुन्दरता थप बढाएको छ । शैलुङमा पछिल्ला समय पर्यटक बढेसँगै होटल व्यवसाय फस्टाउँदै गएको छ ।

आकर्षक दृश्यावलोकन, प्राकृतिक सौन्दर्यतामा मेडिटेशन गर्न र नयाँ संरचनाले यहाँको पर्यटन व्यवसायमा उत्साह थपिएको छ । जसले आगामी दिनमा शैलुङलाई अझै चर्चित पर्यटन गन्तव्य बनाउने सम्भावना देखिन्छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


सम्बन्धित