काभ्रे/ मनसुन सकृय रहँदा बाढी, पहिरो जस्ता प्राकृतिक विपद् निम्त्याउने जोखिम बढेकाले विपि राजमार्गमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार सूचना जारी गर्दै यात्रुको सुरक्षा सुनिश्चित गर्न भदौ १५ सम्मका लागि यस्तो व्यवस्था गरिएको जनाएको छ । जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको निर्णय अनुसार काभ्रेभञ्ज्याङ्-भकुन्डेबेशी हुँदै सिन्धुली तर्फ जाने सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, "हाल देशमा मनसुन सकृय अवस्थामै रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकाले त्यस्ता विपद्जन्य घटनाबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यो निर्णय गरिएको हो ।"
जिल्ला प्रशासन कार्यालयले यात्रु र सरोकारवालालाई सूचना सार्वजनिक गर्दै उल्लिखित समयमा सडक प्रयोग नगर्न अनुरोध गरेको छ ।