मिर्गौला झिकेर बिक्री गर्ने गिरोह पुनः सक्रिय, प्रहरीद्वारा खोजी तीब्र

श्रावण २९, २०८२ |कृपाल गौतम
मिर्गौला झिकेर बिक्री गर्ने गिरोह पुनः सक्रिय, प्रहरीद्वारा खोजी तीब्र

काठमाडौं । आर्थिक अवस्था कमजोर भएकाहरुलाई प्रलोभनमा पार्दै अनधिकृत रुपमा मिर्गौला झिकेर बिक्री गर्ने गिरोह पुनः सक्रिय भएको छ । गत जेठ यता पाँच जना पीडित सम्पर्कमा आएपछि प्रहरीले तस्करीमा संलग्नको खोजी सुरु गरेको छ ।

गत साता मात्र प्रहरीले मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । अरु गिरोहसमेत संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले खोजी तीव्र पारेको छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरी गिरोह सक्रिय भएको निष्कर्ष प्रहरीको छ ।

सिन्धुलीका एक व्यक्तिलाई काठमाडौंको कोटेश्वरबाट काम लगाइदिने आश्वासन दिएर गत जेठमा एक जनाले भारत लिएर जान्छन् । तर भारतमा काम लगाइदिनुको साटो उनको वायाँ मिर्गौला झिकिन्छ र नेपाल फर्काइन्छ । पीडितको स्वास्थ्यमा समस्या देखिएपछि परिवारका सदस्यहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खबर गर्छन् । त्यसपछि मानव बेचविखन अनुसन्धान ब्यूरो पनि सक्रिय हुन्छ र अनुसन्धान थाल्छ । अरु ४ जनापीडित पनि प्रहरीको सम्पर्कमा आउँछन् । उनीहरुलाई पनि त्यसैगरी आश्वासन दिएर भारत पुर्‍याउँदै मिर्गौला निकालेर फर्काइएको खुलासा भएपछि प्रहरीले धेरै मानिस मिर्गौला तस्करको फन्दामा परेको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको हो ।

मानव बेचविखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले मिर्गौला तस्करीमा संगठित गिरोह नै संलग्न भएको आशंका गरिएकाले यस विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

अनुसन्धानका क्रममा मिर्गौला तस्करीमा संलग्न गिरोहका ३ जनालाई प्रहरीले साउन २० र २१ गते पक्राउसमेत गरिसकेको छ । प्रकाउ पर्नेमा नुवाकोटका समीर नेपाली र राकेश नेपाली तथा काभ्रेपलान्चोकका कुमार भनिने राजुकुमार परियार छन् । प्रकाउ परेकाहरुविरुद्ध मानव बेचविखन ओसार-पसार नियन्त्रण ऐनअन्तर्गतको कसुरमा संगठितरुपमा काम गरेकाले संगठित अपराधसमेत जोडेर ४ वटा मुद्धा दर्ता भएको छ । मिर्गौला तस्करीमा संलग्न गिरोहको जालो पत्ता लगाउने प्रयास प्रहरीले गरिरहेको छ ।

मानव शरीरको अङ्ग प्रत्यारोण नियमित तथा निषेध ऐन २०५५ अनुसार नेपालमा अंग प्रत्यारोपण गर्न नजिकको नातेदार हुनुपर्छ । यसमा बुवा, आमालगायत ५२ नाता छुट्याइएको छ । नजिकको नातेदर भएन भने कानुनी प्रक्रिया पूरा गरेर गैरनातेदारबीच अंग साटासाट गर्न मिल्छ । तर त्यसका लागि अस्पतालको अनुमति अनिवार्य छ । मानव अंग बिक्री गर्न भने पाइँदैन । तर कसैको नातेदार नभएको वा नातेदारले दिन नमिल्ने भएमा लिने र दिने दुवैलाई गिरोहले फन्दामा पारेर मिर्गौला निकाल्ने गर्दछन् । यसरी जथाभावी मिर्गौला झिक्दा वा प्रत्यारोपण गर्दा दुवैको ज्यान जोखिममा पर्ने मिर्गौला रोग विशेषज्ञ डा. ऋषीकुमार काफ्लेको भनाइ छ ।

२०७५ सालमा मानव बेचविखन अनुसन्धान ब्युरो स्थापना भए यता हालसम्म मिर्गौला तस्करीमा संलग्न ३८ जना विरुद्ध १४ वटा मुद्दा दर्ता भइसकेको छ । यसअघि पनि नेपाल प्रहरिले मिर्गौला तस्करीका धेरैवटा घट्नामा अनुसन्धान गरिसकेको छ ।

मिर्गौला तस्करको फन्दामा पर्नेहरु आर्थिक अवस्था कमजोर भएकाहरु हुन्छन् । पीडितलाई रोजगारीको आश्वासन र पैसाको प्रलोभनमा पारेर भारत लैजाने र मिर्गौला झिक्ने गरिएको हो ।

दशकौंदेखि चलिरहेको मिर्गौला तस्करीको धन्दा अहिले पनि निरन्तर रहेको यि घट्नाहरुले पुष्टि गर्छ । कसैले तपाईंलाई पनि प्रलोभनमा पारेर मिर्गौला निकाल्न खोजिरहेको हुन सक्छ । समयमै ख्याल गर्नुहोला । अन्यथा मिर्गौला तस्करको फन्दामा परेर तपाईंको स्वास्थ्यसमेत जोखिममा पर्न सक्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।