पछिल्लो पाँच वर्षमा सल्यानमा ५३ किलोमिटर सडक पक्की, ढिलासुस्तीले जनअपेक्षाअनुसारको काम भने भएन

श्रावण २१, २०८२ |सरिता चलाउने
पछिल्लो पाँच वर्षमा सल्यानमा ५३ किलोमिटर सडक पक्की, ढिलासुस्तीले जनअपेक्षाअनुसारको काम भने भएन

सल्यान । पछिल्ला पाँच वर्षमा कर्णली प्रदेश सरकारबाट सल्यानमा ५३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । 

जिल्लाका मुख्य र ग्रामीण सडकहरू कालोपत्रे भएपछि सवारी आवागमन छिटोछरितो भएको छ । यसले जिल्लाको सडक पूर्वाधार विस्तारमा टेवा पुर्‍याएको छ। तर कतै ढिलाइ, कतै ठेकेदारको लापरबाही र कतै कानुनी प्रक्रियाका कारण अपेक्षाअनुसारको काम भने हुन सकेको छैन ।

सुर्खेत जोड्ने खलंगा-बालुवासाग्रही सडकको ट्रयाक तीन दशकअघि नै खुलेको हो । तर कालोपत्रे भने २०७७ सालबाट मात्रै सुरू गरियो । दशकौंसम्म प्राथमिकतामा नपरेको यो सडक, प्रदेश सरकार बनेपछि राजधानी सुर्खेत जोड्ने लाइफलाइन बन्यो । 

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम सुरू गरिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले कामले अपेक्षित गति लिन सकेन । लामो प्रतीक्षापछि बल्ल अहिले यो सडक कालोपत्रे पूरा भएपछि सवारी आवागमन सहज भएको छ ।

यस्तै, थारमारे-बडागाउँ हुँदै रूकुम पश्चिमको चौरजहारी जोड्ने सडक पनि कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । पहिला बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्य हुने यो सडकमा अब यात्रा गर्न सहज भएको छ । थारमारेदेखि बडागाउँसम्म १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकीमा काम जारी छ ।

लामो समयदेखि अधुरो रहेका अन्य ग्रामीण सडक पनि कालोपत्रे भएपछि स्थानीयलाई राहत मिलेको छ । यसले व्यावसायिकरूपमा तरकारी खेती, पशुपालन गर्ने किसानलाई उत्पादन बजारसम्म पुर्‍याउन सहज बनाएको छ । 

त्यस्तै, लुहाम-काभ्रा-कालिकाटी १६ किलोमिटर सडक कालोपत्रे भएको छ । यो सडकले जिल्लाका तीन पालिकासहित प्रदेश राजधानी सुर्खेतसँग जोड्ने काम गर्दैछ ।

ग्रामीण सडकको स्तरोन्नतीले जनजीवन सहज बनाइरहँदा अपेक्षाअनुसार कामको गति भने छैन । पूर्वाधार विकास कार्यालय, सल्यानले पछिल्ला ५ वर्षमा ५३ किलोमिटर सडक कालोपत्रे गरेको छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा २० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा १५ किलोमिटर कालोपत्रे भएको छ। जिल्लाका अझै सयौं किलोमिटर सडक कच्ची छन् । पाँच वर्षमा केही सडक कालोपत्रे भए पनि विकासको गति जनताको आकांक्षासँग मेल खाएको छैन ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।