हुम्लामा पनि वायु प्रदूषणको असर

वैशाख २२, २०८१ |जनकबहादुर शाही
हुम्लामा पनि वायु प्रदूषणको असर

हुम्ला । वायु प्रदूषणको असरले हुम्लालाई पनि प्रभावित बनाएको छ ।

शनिबार बिहानैदेखि हुम्लाको सदरमुकाम सिमकोटको आकाश एक्कासि तुवाँलोले ढोकेपछि दिउँसै अन्धकारजस्तै देखिएको छ । देशका अधिकांश क्षेत्रका वन-जंगलमा डढेलो लागेको कारण वायुमण्डलमा धुँवाको मात्र बढ्न गई वातावरण धमिलो बनेकाले यसको असर हुम्लामा पनि परेको हो ।

वन-जंगलमा लागेको डढेलोका कारण अहिले देशैभर वायु प्रदूषणको मात्रा बढ्न गई हुम्लाको आकाशमा एक्कासि तुवाँलो देखिएको मौसमविद्‌को भनाइ छ । अहिले वायुमण्डलमा भएको धुलोमा धुवाँको मात्रा धेरै देखिएको छ ।

वर्षा वा हुरी नचलेसम्म वायुमण्डलमा लागेको बाक्लो तह नफाट्ने र डढेलोसँगै अरु प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको हुँदा यसबाट जोगिन घरबाहिर ननिस्कनु उपयुक्त हुने चिकित्सकको सुझाव छ ।

बिहानैबाट बाक्लो तुवाँलो लागेकाले सिमकोट आसपासको क्षेत्रमा दुई सय मिटर पर पनि नदेखिने अवस्था रहेकाले नेपालगन्ज र सुर्खेतबाट कुनै पनि विमानले उडान नभर्दा हवाई सेवा पनि प्रभावित बनेको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले जनाउनुभयो ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।