दोलखा । दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती दर्शन गर्न गएका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका २, तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो तीन हजार आठ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि बेहोस बनेका उनको श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
यसैबीच गौरीशंकर गाउँपालिका ५, गुरुम्फी खोलामा ढुंगाको च्यापमा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । जिरी नगरपालिका ९, ठूलोपातालका ६० वर्षीय रत्नबहादुर सुनुवारको शव खोलामा फेला परेको हो ।
गौरीशंकर गाउँपालिका ५, सुम्नामा छोरीसँगै बस्दै आएका सुनुवार शनिबार बिहान घरबाट हिँडेका थिए । माछा मार्नेहरूले खोलामा सुनुवारको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेका सुनुवारका विषयमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।