पूर्वउपराष्ट्रपतिका छोरा दीपेश धरौटी बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ

वैशाख १४, २०८१ |भुवन पाण्डे
पूर्वउपराष्ट्रपतिका छोरा दीपेश धरौटी बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ

रुपन्देही । सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सीआईबीको समन्वयमा उनलाई कसरी उपस्थिति गराउने भन्नेबारे टुंगो लाग्ने प्रहरीले जनाएको छ । उनी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

६० किलो सुन प्रकरण मुद्दामा दीपेश सीआईबीको अनुसन्धानको दायरामा थिए । राजनीतिक आडमा सामान्य बयान मात्र लिएर उन्मुक्ति पाएका उनलाई पुनः नियन्त्रणमा लिएको छ । सुन प्रकरणका प्रतिवादी बेल्जियन नागरिक दावा छिरिङसँग दीपेशको सम्बन्ध देखिए पनि प्रतिवादी बनाइएन ।

जिल्ला अदालत रुपन्देहीमा शुक्रबार चार लाख रुपैयाँ धरौटी बुझाएलगत्तै अदालत परिसरबाटै दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुप्रिम सहकारी ठगी मुद्दामा वैशाख ७ गते न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पक्राउ परेका सातमध्ये ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सहकारीका अध्यक्षलाई भने थुनामा राख्ने आदेश थियो । चार प्रतिवादी सोही दिनै धरौटी रकम बुभाएर रिहा भएका थिए । सहकारीका कर्मचारी नवीन अछामीले त्यहीदिन धरौटी रकम जम्मा गर्न नसकेपछि ९ गते मात्र रिहा भए । तर, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले सात दिनसम्म चार लाख धरौटी नबुझाएपछि जिल्ला कारागारमा थुनामा थिए ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।