साइबर आक्रमणको जोखिममा ठूला कम्पनी

डाटा नियन्त्रणमा लिएर लाखौं फिरौती असुली
अनुसन्धान र कारबाहीमा साइबर ब्युरोलाई चुनौती
वैशाख २४, २०८१ |रमेश धमला
साइबर आक्रमणको जोखिममा ठूला कम्पनी

काठमाडौं । ठूला-ठूला कम्पनीमा साइबर आक्रमण गरेर रकम असुली गर्ने घटना बढ्न थालेका छन् । संवेदनशील कम्पनी वा संस्थाका सर्भरमा आक्रमण गरेर डाटा चोरी गर्ने र फिरौती रकम नदिए क्षति पुर्याउने धम्की दिँदै लाखौं रकम असुलीका घटनाले राष्ट्रिय सुरक्षामै गम्भीर खतरा निम्त्याइरहेका छन् । यस्ता, घटनामाथि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान बढाएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोमा दैनिक २० भन्दा बढी उजुरी सामाजिक सञ्जालका कारण पीडित भएकाहरुबाट पर्ने गरेका छन् । तर, साइबर सुरक्षाको जोखिम सामाजिक सञ्जालमा मात्रै होइन, राष्ट्रिय सुरक्षाका लागि समेत गम्भीर चुनौती बन्दै गएको छ । हजारौं व्यक्तिको डाटा भएको निजी सर्भर र खातामा आक्रमण गर्ने तथा फिरौती नदिए नष्ट गर्ने धम्की दिएर रकम असुली गर्ने घटना बढेपछि सुरक्षामा चुनौती थपिएको हो ।

२०७८ मा रुपन्देहीको नेसनल सफ्टवेयर एन्ड आईटी सोलुसन प्रालिमा आक्रमण भएको घटनामा साइबर ब्युरोले अनुसन्धान गरेको थियो । हृयाकरले सोर्स कोड नै चोरी गरेर अर्कै कम्पनीको नाममा बिक्री गरेपछि त्यो कम्पनीले ३० लाख रुपैयाँ माग गर्यो । पछिल्लो समय आर्थिक क्षति र फिरौती असुलीका लागि साइबर आक्रमणका घटना बढेको ब्युरो प्रमुख नविन्द अर्यालको बुझाइ छ ।

गत वर्ष ललितपुरको जेनिस सोलुसन प्रालिको सर्भरमै आक्रमण गरेर ७८ लाख रुपैयाँबराबरको प्रोजेक्ट र डाटा नष्ट गरेको दाबीसहितको मुद्दामा साइबर ब्युरोले नै अनुसन्धान गरेको हो । कुनै निजी कम्पनीको डाटामाथि लाखौंको असुली र क्षति पुग्ने गरी भएको आक्रमणमा पैसा फिर्ता गराउन भने कठिन देखिएको छ ।

दुई वर्षअघि राजस्व व्यवस्थापनसम्बन्धी सफ्टवेयर पनि सोर्सकोड चोरी भएको थियो । उक्त सफ्टवेयर ह्याकरहरुले स्थानीय तहहरुलाई पााच लाखमा बिक्री गरेका थिए । यसमा हृयाकरले ३० लाख रुपैयाँबराबरको क्षति पुर्‍याएका थिए । साइबर आक्रमण कति जोखिमपूर्ण बन्दै गएको छ भन्ने केही घटना हुन् यी । पछिल्लो तीन वर्षको बीचमा लोक सेवा आयोग तथा राष्ट्र बैंकका एप्लिकेसनमै आक्रमण भएका छन् ।

सुबिसु केवल नेट र भायानेटजस्ता व्यक्तिका विवरण लिएर सञ्चालन भएका इन्टरनेट कम्पनीकै डाटा चोरीका लागि साइबर आक्रमण भएको प्रहरीको तथ्यांकले देखाएको हो । यस्तै, नेपाल टेलिकम, बैंक तथा वित्तीय संस्थाजस्ता संवेदनशील संरचनामा भएका साइबर आक्रमणले राष्ट्रिय सुरक्षामै जोखिम बढाइरहेका छन् । यस्ता अधिकांश घटनामा नेपाल बाहिरबाट आक्रमण भएका देखिएका छन् भने केही घटनामा नेपाली संलग्न रहेको साइबर ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

कतिपय कम्पनी र संस्थाहरुले आफ्नो प्रतिष्ठा गुम्न सक्ने भन्दै फिरौती बुझाएको घटना गोप्य राख्ने गरेका छन् । तर साइबर आक्रमणको चुनौती नियन्त्रण गर्न नसके नेपालका धेरै संवेदनशील संयन्त्रमाथि अप्ठ्यरो परिस्थिति निम्तन सक्नेतर्फ प्रहरीले पटक-पटक प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयमा जानकारी गराउँदै आएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।