गैंडाको संख्या र अवस्था बुझ्न बर्दिया राष्ट्रिय निकुञ्जले सुरु गर्‍यो अनुगमन

पानीको पिउन एक दर्जन गैंडा भारतीय आरक्षमा पुगेको आशंका
चैत्र २४, २०८० |कमल पन्थी
गैंडाको संख्या र अवस्था बुझ्न बर्दिया राष्ट्रिय निकुञ्जले सुरु गर्‍यो अनुगमन

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । त्यसका लागि निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली र एघार वटा हात्ती परिचालन गरिएको छ । भारतीय सञ्चार माध्यमले बर्दिया निकुञ्ज हुँदै एक सिंगे गैंडा कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेको जनाएका छन् ।

बर्दिया निकुञ्ज हुदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण केही गैंडा पिउने पानीको समस्याले भारतीय सेन्चुरीमा पुगेको छ । कर्णाली नदीको भंगालो गेरुवा नदीमा ०७१ र ०७४ सालमा आएको बाढीले नदीजन्य पदार्थ थुपारेपछि धार परिवर्तन गर्दा पानी सुक्दै गएको हो । पिउने पानीको अभाव सँगै अहाल बस्न नपाउँदा करिब दर्जन गैंडा भारतीय आरक्षमा पुगेको आशंका गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले बताउँछन् ।

सन् १९८४ मा पहिलो पटक चितवन निकुन्जबाट बर्दियाको गेरुवा र कर्णली नदी तटिय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैंडाको स्थान्तरण प्रक्रिया शुरु भएको थियो । त्यसपछि ७४ वटा गैडा बबई उपत्याकामा छाडिएको थियो । खाता जैविक मार्ग बन कार्यालय अन्तर्गत पर्दछ । यसै मार्ग हुँदै नेपाल भारत सीमामा वन्यजन्तु ओहोर-दोहोर गर्छन् ।

बर्दिया निकुञ्जसँग बग्ने गेरुवा नदीमा पानीको निकास नभए निकुञ्जका अन्य वन्यजन्तु पलायन हुने अवस्थामा पुग्ने छ । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।