धनकुटा । डढेलो र आगलागी नियन्त्रणका लागि अति आवश्यक उपकरण हो दमकल, अर्थात् वारुणयन्त्र । तर ६२१ स्थानीयतहसँग दमकल नै छैन । दमकल भएका एक सय ३२ पालिकामा पनि सञ्चालन गर्न चाहिने जनशक्ति र आवश्यक स्रोतको जोहो छैन ।
धनकुटाका सात वटामध्ये धनकुटा नगरपालिका बाहेक ६ वटा स्थानीय तहसँग आगो लागिहाले निभाउन वारुणयन्त्र छैन । धनकुटा नगरपालिकामा रहेका दुईवटा वारुणयन्त्र सञ्चालनका लागि पनि छुट्टै जनशक्ति छैन । अग्नि नियन्त्रणको काममा नगर प्रहरी खटिँदै आएका छन् । ताप्लेजुङका नौवटा स्थानीय तहमध्ये फुङलिङ नगरपालिकासँग मात्रै एउटा वारुणयन्त्र छ । कर्मचारीका नाममा एकजना चालक छन् । आगो निभाउने काममा प्रशासन र योजना शाखाका कर्मचारीले सघाउँछन् । धादिङका १३ स्थानीय तहमध्ये नीलकण्ठ र धुनीबेंसी नगरपालिकासँग मात्रै वारुणयन्त्र छ । तर आगो निभाउन खटिने तालिमप्राप्त जनशक्ति पनि छैनन् ।
मुलुकका सात सय ५३ मध्ये एक सय ३२ स्थानीय तहसँग जम्मा एक सय ६३ वटा मात्रै दमकल छन् । बाँकी ६२१ स्थानीय तहमा दमकल नै छैन ।
आगो निभाउने काममा हालसम्म नेपालमा प्रयोग भइरहेको उच्च प्रविधि र साधन दमकल मात्रै हो । धेरै ठाउँमा दमकलमा भर्ने पानीको व्यवस्थापनसमेत हुनसकेको छैन । साँघुरो सडकका कारण कतिपय पुराना बस्तीमा दमकल छिर्न सक्दैन । भौगोलिक रुपमा दुर्गम र दूरदराजका बस्तीसम्म त दमकल पुग्ने कल्पनासम्म गर्न सकिँदैन । जसले गर्दा अति संवेदनशील अग्नि नियन्त्रण सेवा प्रभावकारी बन्न सकेको छैन ।
एउटा वारुणयन्त्र सञ्चालनका लागि आठ/आठ घण्टाको सिफ्टमा कम्तिमा चार/चारजना अग्नि नियन्त्रक र अरु चारजना सहयोगी आवश्यक पर्छ । कर्मचारीको पारिश्रमिक, इन्धन र मर्मत खर्च जोड्दा एउटा दमकल सञ्चालनका लागि वार्षिक कम्तीमा ३० लाख रुपैयाँ आवश्यक पर्छ । दमकल अनिवार्य आवश्यकता भए पनि त्यसको खरिद सञ्चालन र व्यवस्थापन निकै पेचिलो भएको खाँदबारी नगरपालिका संखुवासभाकी उपप्रमुख महेश्वरा वज्राचार्यको भनाइ छ ।
पुरानो ढाँचाका सहरी संरचना, सडक, घरको बनोट, भौगोलिक अवस्थिति, पानीको बन्दोबस्त, कर्मचारी व्यवस्थापनलगायत कुरा दमकल सञ्चालन व्यवस्थापनका मुख्य पक्ष हुन् ।