आपसी सद्भाव र खुसी साटासाट गरेर पहाडी क्षेत्रमा मनाइयो फागु, तराईमा भोलि मनाइँदै

चैत्र ११, २०८० |कान्तिपुर टीभी संवाददाता
आपसी सद्भाव र खुसी साटासाट गरेर पहाडी क्षेत्रमा मनाइयो फागु, तराईमा भोलि मनाइँदै

काठमाडौं । आपसी सद्भाव र खुसी साटासाट गरेर पहाडी क्षेत्रमा हर्षोल्लासका साथ फागु पर्व मनाइएको छ । भूगोल र समुदाय अनुसारका परम्परासहित पहाडी तथा हिमाली क्षेत्रमा धुमधामका साथ होली खेलेर फागु मनाइएको हो ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने रंगहरुको पर्व फागु गाउने र होली खेल्ने चलन छ । काठमाडौं उपत्यका सहित पहाडी र हिमाली क्षेत्रमा आज उल्लासका साथ फागु मनाइएको छ । तराईमा भने भोलि फागु मनाइँदै छ । 

रंगहरु दलेर मनाइने होलीलाई आपसी मेलमिलाप र सद्भावको पर्वसँगै रङहरूको पर्वको रुपमासमेत लिइन्छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने होली पर्व असत्यमाथि सत्यको विजय भएको धार्मिक मान्यताका आधारमा मनाउने गरिन्छ । नेपालमा दुई दिन यो पर्व मनाइन्छ । हिमाल र पहाडमा आज र तराई मधेशमा भोलि होली मनाउने प्रचलन छ । त्यसो त युवा पुस्ताहरू पछिल्लो समय सामूहिक रूपमा भेला भएर सांगितिक कार्यक्रम आयोजना गरी गीत संगितमा रमाउँदै होली खेल्ने गरेका छन् । 

काठमाडौंको वसन्तपुरमा लगायत उपत्यकाभर युवायुवती भेला भएर नाचगान गर्नुका साथसाथै अबिर दलेर होली मनाए । दरबारमार्ग, ठमेल क्षेत्रमा विदेशी पर्यटकले पनि होली मनाउँदै खुसी साटासाट गरेका थिए । राजनीतिक दलका नेता तथा कलाकारले पनि आआफ्नै तरिकाले होली मनाए ।

फागु पूर्णिमाको हर्षोल्लासपूर्वक मनाएपछि काठमाडौं उपत्यकामा आजै चीर ढालेर होली समाप्त गर्ने प्रचलन छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठक दक्षिणमा ठड्याइएको चीर पूर्णिमाको रातमा ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।

यो पनि...

रङमा झुमे युवादेखि बालबालिका (११ तस्बिर)

तस्बिरमा भक्तपुरको होली-उमंग


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.