बझाङमा चट्याङ लागेर एकको मृत्यु, ७ घाइते

चैत्र १०, २०८० |वसन्तप्रताप सिंह
बझाङमा चट्याङ लागेर एकको मृत्यु, ७ घाइते

बझाङ । बझाङमा शुक्रबार राति परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा शुक्रबार राति साढे ९ बजे  घरमा चट्याङ पर्दा एकै परिवारका एक जनाको मृत्यु र ७ जना घाइते भएका हुन् ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहकाअनुसार मृत्यु हुनेमा स्थानिय ५२ वर्षीय गजेन्द्र बहादुर सिंह रहेका छन् । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीय छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्र बहादुर सिंह, उनकी श्रीमती २५ वर्षीय निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन् ।

यस्तै त्यही ठाउँका धन बहादुर सिंहकी श्रीमती ४० वर्षीय पञ्चादेवी सिंह, उनकै छोरा ९वर्षीय नितेश सिंह र छोरी १३ वर्षीय लक्ष्मी सिंह पनि घाइते छन् । घाइते सबैको हात खुट्टाहरुमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । घाइतेहरूमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । मृतकको शव पनि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।