मोरङको बेलबारीमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

चैत्र ७, २०८० |सुशीला पाठक
मोरङको बेलबारीमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

काठमाडौं । बेलबारी नगरपालिका-१ भेडाटोलमा डेरी गरी बसेका ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले आत्महत्या गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार श्रीमतीको हत्या गरेपछि बमबहादुर आफूले पनि आत्महत्या गरेका हुन् ।

निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका उनीहरुको स्थायी ठेगाना खुल्न सकेको छैन । बमबहादुरले बुधबार बिहान पौन दुई बजेतिर धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बमबहादुरले श्रीमतीको हत्या गरेपछि हतियारले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी दाहालले बताए ।

घाँटी रेटेर गम्भीर घाइते बमबहादुरलाई उद्धार गरी विराटनगरको नोबेल अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको खुलेको छ । उनीहरुका आठ वर्षीय छोरा छन् । घटना हुँदा घरमै रहेको र ऊ भागेका कारण बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।