हिउँको घुम्टोमा खप्तडका पाटन (फोटो फिचर)

बढ्यो पर्यटकको चहलपहल
चैत्र १, २०८० |वसन्तप्रताप सिंह
हिउँको घुम्टोमा खप्तडका पाटन (फोटो फिचर)

बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा यतिबेला पर्यटक बढेका छन् । जाडो घटेसँगै हिउँ परेर सेताम्मे भएका खप्तडका पाटनहरुमा रमाउन आउनेहरु बढेका हुन् ।

माघ अन्तिम साता परेको हिउँ पग्लिन नपाउँदै फागुनमा पनि खप्तड क्षेत्रमा लगातार चार दिनसम्म भारी हिमपात भयो । भूस्वर्गको उपमा पाएको खप्तड हिउँको घुम्टोले छोपिँदा झन् मनमोहक देखिएको छ । हिउँ फूलेका रुखले यहाँका जंगल सिँगारिएका छन् । घामपानीमा देखिने सप्तरंगी इन्द्रेणीको मनमोहक दृष्य, बादल र घामको लुकामारी हेर्नलायक छ ।

यस्तै दृष्यले यहाँ पुग्नेहरुलाई स्वर्गीय आनन्दको अनुभूति गराउँछ । माघमा ३ फिटसम्म हिउँ परेको खप्तडमा फागुनमा त कतैकतै ५ फिट बाक्लो हिउँ देख्न सकिन्छ । तापक्रम विस्तारै बढिरहँदा यहाँ जमेका ताल र खोलाहरु पग्लिन थालेका छन् । माघमा रातिको तापक्रम माइनस १० डिग्रीसम्म ओर्लिने गरेकामा अहिले एक/दुई डिग्री छ । तापक्रम बढेसँगै खप्तडमा हिउँ खेल्ने आउनेहरु पनि बढिरहेका छन् ।

पर्यटकको आवागमन सहज बनाउन नेपाली सेनाको सिंह शार्दुल गुल्मले खप्तड प्रवेश गर्ने सबै जिल्लाको बाटो खोलिसकेको छ । खप्तड राष्ट्रिय निकुञ्जभित्र घुम्ने मुख्य ठाउँहरु पुल्पुला, नाचन्थली, घोडादाउना पाटन, त्रिवेणी, बाबा आश्रम, खापर दहलगायत ठाउँसम्म पुग्ने बाटो पनि खोलिएका छन् ।

यहाँ हिँड्दै गर्दा केही मिनेटको फरकमा देखिने सुन्दर दृष्यले पर्यटकको थकाई बाटैमा मेटाउने गरेको छ । खप्तड घुम्दा यहाँको भूदृष्यको आनन्द लिएर पर्यटकहरु रोमाञ्चित त हुन्छन् नै तनावमुक्त भएको महसुस गरेर फर्किने अनुभव सुनाउँछन् । खप्तड स्वामीले ५० वर्षसम्म तपस्या गरेको यो तपस्थलमा पुग्नेहरुले आत्मिक शान्तिको अनुभव गर्छन् ।

बझाङ, बाजुरा, डोटी र अछाम भएर खप्तड प्रवेश गर्न सकिन्छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट सबै जिल्ला पक्की सडक सञ्जालमा जोडिएका छन् भने बझाङ र बाजुरा आउन धनगढीबाट हवाइजहाजमार्फत पनि यात्रा गर्न सकिन्छ ।


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।