शालिनको शव परीक्षण रिपोर्ट अनुसार झुन्डिएर मृत्यु

चितवन प्रहरी भन्छ- अनुसन्धान जारी छ
फाल्गुन २०, २०८० |राजु चौधरी
शालिनको शव परीक्षण रिपोर्ट अनुसार झुन्डिएर मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण (पोस्टमार्टम) को रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा गरिएको शव परीक्षणको रिपोर्टअनुसार शालिनको हत्या नभई झुन्डिएर आत्महत्या गरेको खुलेको छ । शव परीक्षणमा शालिनलाई बलात्कार गरेको नदेखिएको चितवन प्रहरीले जनाएको छ ।

कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन फागुन १२ गते बिहान १०:२० बजेको समयमा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ लेखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता श्रीराम भण्डारीले जनाएका छन् ।

‘पोस्टमार्टमको रिपोर्टमा ह्यांगिङ भन्ने आएको छ । अन्य कुराहरु केही देखिएको छैन भनेको छ । हामीले अझै पाउनुपर्ने धेरै रिपोर्ट आउन बाँकी नै छन्,’ भण्डारीले भने, ‘जस्तै भिसेराको रिपोर्ट, ब्लड स्याम्पलको रिपोर्ट, सुसाइट नोटको रिपोर्ट विधि विज्ञान प्रयोगशालाबाट आउन बाँकी नै छ ।’

उनले अन्य रिपोर्टहरु आउन भने बाँकी रहेको पनि जानकारी दिए । आफूहरु अझै अनुसन्धानको प्रक्रियामा रहेको भण्डारीले जनाए । यो घटनालाई आफूहरुले एकदमै गहनतापूर्वक अनुसन्धान गरिरहेको पनि उनको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका पाँचजना फरेन्सिक विशेषज्ञले शालिनको शव परीक्षण गरेका हुन् । पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्टअनुसार शरीरमा ठूलो चोटपटक देखिएको छैन ।

प्रहरीले छात्राको सुसाइड नोटको पनि अध्ययन गरिरहेको छ । विधिविज्ञान प्रयोगशालामा सुसाइट नोटको पनि परीक्षण भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । सुसाइट नोटमा छात्राले सबैसँग क्षमायाचना गर्दै ‘सरी एभ्रीबडी मैले अहिलेसम्म जति पनि गल्ती गरें मेरो ममीबाबालाई याद गर्‍या छु भन्दिनु सरी’ लेखेकी छन् ।

गोरखाको अजिरकोट गाउँपालिका ५, मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका १५ स्थित माधवपुरमा बस्थिन् । माधवपुरमा रहेको मामाघरको रेखदेखमा रहेकी शालिन दुई वर्षदेखि सोही होस्टेलमा बसेर पढ्थिन् ।

उनका बुबाआमा सम्बन्धविच्छेद गरेर छुट्टाछुट्टै बस्दै आएका थिए । यही घटनालाई लिएर शालिनको परिवारले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले विद्यालयका प्राचार्य रत्ननगर नगरपालिका १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरी फागुन १५ गते चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

दोषीमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

यसैबीच संघीय संसद्‌को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको एकता शिशु निकेतनकी छात्रा शालिन पोखरेलको मृत्युको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानकर्षण गराएको छ ।

समितिको आज बसेको बैठकले विद्यालयको छात्रावासमा भएको घट्ना दुखद रहेको भन्दै छानबिन गरी पीडित परिवारलाई न्याय दिनसमेत सरकारलाई भनेको छ । साथै छात्रावासलाई सुरक्षित तथा भयरहित बनाउन र विद्यार्थीमैत्री बनाउन देशभरका छात्रावासको मापदण्ड पालनाका विषयमा अनुगमन गरी अवस्थाबारे स्पष्ट पार्नसमेत शिक्षा मन्त्रालयलाई समिति सभापति भानुभक्त जोशीले निर्देशन दिए ।

बैठकमा सांसदहरुले पनि शालिन पोखरेलको मृत्युको घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।