जीबी राईले ७८ करोड ऋण लिएको बुटवलस्थित सुप्रिम सहकारीका अध्यक्ष र शाखा प्रमुख पक्राउ

फाल्गुन ५, २०८० |अमृता अनमोल
जीबी राईले ७८ करोड ऋण लिएको बुटवलस्थित सुप्रिम सहकारीका अध्यक्ष र शाखा प्रमुख पक्राउ

रुपन्देही । वचतकर्ताको करिब सवा १ अर्ब रूपैयाँ हिनामिना गरेको बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

वचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदन र वचतकर्ताको उजुरीपछि अध्यक्ष गुरूङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । प्रहरीले अध्यक्ष गुरूङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएपछि मात्रै सूचना सार्वजनिक गरेको हो ।

रूपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३ सय ९१ जना वचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रूपैयाँ हिनामिना गरी विगत एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबी) राई भने सम्पर्कबिहीन छन् । सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रूपैयाँ ऋण दिएको थियो ।

राईले आफूआबद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न पाँचवटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८ ६० रूपैयाँ, जिपी ग्रुप एन्ड कम्पनी लिमिटेडमा विभिन्न सात वटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५ सय २० रूपैयाँ र स्प्रिङ उड रियल स्टेट हाउजिङ प्रालिमा तीन वटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ ऋण लगेका थिए ।

सहकारीले राई सञ्चालक रहेको नेचर नेस्ट प्रालिमा विभिन्न तीन वटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८ सय ८५ र राईका नाममा तीन वटा मितिमा ६ करोड २० लाख ८८ हजार ४ सय ८९ रूपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार रकम ऋण दिएको थियो ।

पाँचवटा कम्पनीमा लगेको ऋणबापत राईले सहकारीलाई ब्याज मात्रै ९ करोड १९ लाख १ सय रूपैयाँ बुझाउनुपर्नेछ । साँवा र ब्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७ सय ६५ रूपैयाँ लिएर राई सम्पर्कविहीन भएका छन् । उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ ।

त्यस्तै अन्य सञ्चालक तथा विभिन्न ५२ जना ऋणीलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७ सय २५ रूपैयाँ पनि सहकारीले उठाउन सकेको छैन । ती ऋणीले पनि ब्याजबापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७ सय ७५ रूपैयाँ बुझाउन बाँकी देखिन्छ । यति ठूलो रकम हिनामिना गरी संरक्षक राई फरार भएपछि वचतकर्ताको उजुरीका आधारमा प्रहरीले अध्यक्ष गुरूङ र भैरहवा शाखा व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको हो ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।