महिलालाई ‘बोक्सी’ भन्दै मानव मलमूत्र खुवाउने पारोदेवी माझी पक्राउ

फाल्गुन ४, २०८० |सुशीला पाठक
महिलालाई ‘बोक्सी’ भन्दै मानव मलमूत्र खुवाउने पारोदेवी माझी पक्राउ

विराटनगर । महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र खुवाएको आरोपमा बुढीगंगा गाउँपालिका वडा नम्बर सातकी ५० वर्षीया पारोदेवी माझी पक्राउ परेकी छन् ।

बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने बुढीगंगा सातकी माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेकी महिला गाउँ घरमा धामीझाँक्रीको काम गर्दै आएकी छन् ।  

मोरङको बुढीगंगा गाउँपालिका- ७ मा कुटपिट र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । माझीको घरमा अष्टजाम पूजामा प्रयोग गरेको दियो हराएपछि पीडित महिलालाई चोरीको आरोप लगाउँदै यातना दिइएको हो ।

पूजामा प्रयोग गरिएको दियो पीडित महिलाले चोरी गरेको आरोप लगाउँदै माझीले यातना दिएर उनलाई अमानवीय व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए । पीडक महिलाले जोखना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा पीडित महिलाले दियो चोरेर लगेको थाहा भएपछि ‘बोक्सी’ भन्दै कारबाही गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । 

पूजामा पीडित प्रवेश गरेको भन्दै कुटपिट गर्दै मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेको प्रहरीले बताएको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय हरैँचामा उजुरी दिएकी हुन् । माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।