टिप्ताला नाका खुला गरिदिन ओलाङचुङगोलावासीको आग्रह

माघ १४, २०८० |आनन्द गौतम
टिप्ताला नाका खुला गरिदिन ओलाङचुङगोलावासीको आग्रह

ताप्लेजुङ । एउटै कोखबाट जन्मिएर हुर्किएकाहरूलाई आफ्ना दाजुभाइ दिदीबहिनीसँग जीवन रहुन्जेल सँगै बसुँजस्तो स्वभावैले लाग्छ । तर सामाजिक चालचलन, परम्परा र जिम्मेवारी बोधले त्यो अवसर दिँदैन । आफ्नो जन्म देश छोडेर नेपालमा वैवाहिक जीवन बाँचिरहेका तिब्बती चेलीहरूलाई हिमालले मात्रै होइन चीन सरकारको नीतिका कारण पनि वर्षौँसम्म माइती देश भेट्ने साइत जुरेको छैन ।

उमेरले ७० कटेका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका छिरिङ किपा र डण्डु शेर्पा दम्पतीलाई तिब्बत जाने हुटहुटीले सताएको धेरै भयो । जीवनको उत्तरार्द्धमा किपाले राखेको माइती देश पुगेर आफन्त भेट्ने चाहनामा श्रीमान् डण्डु पनि साथ दिन चाहन्छन् । तर चीन सरकारले कोरोना सङ्क्रमण नियन्त्रण गर्न भन्दै  बन्द गरेको टिप्ताला भञ्ज्याङ नाका नखोल्दा उनीहरूको चाहना पूरा हुन सकेको छैन । 

व्यापारका लागि खल्तीमा पैसा बोकेर गएका नेपाली युवकसँग घरजम गर्ने दर्जनौँ तिब्बती चेलीहरूको यो साझा कथा हो । ताप्लेजुङको ओलाङचुङगोला र याङमामा मात्रै तिब्बत माइती भएका १८ बढी छन् । जन्मस्थलको याद र आफन्तको माया औधी नै भए पनि देशको सिमानाले छेकेको छ । हाल यो नाकाबाट व्यापारिक सम्बन्धसमेत अवरुद्ध छ ।

ओलाङचुङगोलाका ५६ र याङमाका ११ परिवारको कुनै न कुनै सम्बन्ध चीनको तिब्बतसँग छ । टेलिकमले फोर जी नदिएको गोला र टेलिफोन सेवा नै नपाएका याङमाका बासिन्दा आधुनिक प्रविधि प्रयोगमा पनि जोडिन सकेका छैनन् । गत सेप्टेम्बर महिनामा तिब्बतको डिङजे काउन्टीका प्रमुखले फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष छेतेन शेर्पा लामालाई फोन गरेर नाका खोल्ने सूचना दिएका थिए ।

ताप्लेजुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले आफ्नो जिल्लाको सीमावर्ती क्षेत्रका नागरिकलाई सीमा परिचय पत्र पनि गाउँमै गएर वितरण गरिन । तर, टिप्ताला नाका खुल्ने सन्देश अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दा माइतीसँग भेटेर भलाकुसारी गर्ने आशा पनि निराशामा बदलिएको छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।