नागरिकलाई सुरक्षा दिने प्रहरी नै असुरक्षित

पुस २५, २०८० |कमला पाख्रिन
नागरिकलाई सुरक्षा दिने प्रहरी नै असुरक्षित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नागरिकलाई सुरक्षा दिने प्रहरी नै असुरक्षित बनेका छन् । जीर्ण कार्यालय, आवास, भाडाको घरमा कार्यालय र न्यून जनशक्तिका कारण समाजमा शान्तिसुरक्षा कामय राख्न खटिने प्रहरी आफैं असुरक्षित बनेका हुन् ।

उत्तरको सबैभन्दा ठूलो तातोपानी नाकाको चीनसँगको सीमामा इलाका प्रहरी कार्यालय जीर्ण छ । भवनको वरिपरिको भाग भासिएर चर्किएको छ । प्रहरी बस्दै आएको भावन कतिबेला भत्किने हो थाहा छैन ।

डरलाग्ने गरी जमिन फाटेको छ भने भवनको पर्खाल चर्किएको छ । करिब ८ वर्षदेखि जीर्ण भग्नावशेष जस्तै बनेको भवनबाट प्रहरीले तातोपानी नाकाको गतिविधि र सीमाको निगरानी गर्दै आएको छ ।

यता राष्ट्रिय गौरवको आयोजना क्षेत्रको इलाका प्रहरी कार्यालय हेलम्बु भाडाको र जीर्ण भवनमा बस्न बाध्य छ । मेलम्ची खोलामा आएको बाढी भर्खर बनेको भवन बगाएपछि स्थानीयको घरबाट सेवा दिँदै आएको प्रहरीलाई जस्ताको छानोमा पुसको चिसोमा छल्न कठिन भएको छ । तर पनि आफ्नो जिउधनको पर्वाह नगरी स्थानीयको घर भाडामा लिएर शान्तिसुरक्षा दिँदै आइरहेको छ ।

‘सेवाग्राही आएर बस्ने ठाउँ, छलफल गर्ने ठाउँको समस्या छ । कोठा अभाव छ,’ इलाका प्रहरी कार्यालय हेलम्बुका इन्चार्ज मनोजकुमार श्रेष्ठले भने, ‘हामीलाई कार्यसम्पादनमा समस्या भए पनि सेवाग्राहीलाई दिनुपर्ने सेवा ठप्प बनाएका छैनौं ।’

यीबाहेक काभ्रे र सिन्धुपाल्चोक सीमाक्षेत्र बन्देउ चौकी भने टहरामा सञ्चालित छ । भवन पनि जिर्ण र कमजोर छ । सिन्धुपाल्चोक हुँदै दोलखा पुग्ने सडक सुरक्षामा रहेको अत्तरपुर चौकी जग्गा नहुँदा भवन बन्न सकेको छैन ।

उस्तै समस्या जिल्लाका १४ वटा प्रहरी कार्यालयले भोग्दै आएका छ । ६४२ दरबन्दी रहेकामा ५४८ मात्र कार्यरत छन् । यी विविध समस्याका बाबजुद पनि बाढी पहिरो, सडक दुर्घटना, आन्दोलन र ठूला कार्यक्रममा जिल्लाभरको प्रहरी खटाएर सुरक्षा दिँदै आएको प्रहरीको यथार्थ हो ।

‘प्रहरी कम भएको कतिपय अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट समेत परिचालन गरेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाएका छौं,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सन्जीव यादवले भने ।

राष्ट्रको सेवामा खटिने सुरक्षाकर्मीलाई न्यूनतम् आधारभूत सुविधा हुनुपर्छ । मनोबल उच्च राख्न पनि सुरक्षाकर्मीका बासस्थान व्यवस्थित हुनुपर्छ । तर, सिन्धुपाल्चोकमा सुरक्षामा खटिएका प्रहरीमाथि सरकारले बेवास्ता गरेको प्रस्ट देखिन्छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।