चिसोकै कारण जाजरकोटमा सुत्केरीको मृत्यु

कात्तिक १७ को भूकम्पपछि जाजरकोट र रुकुममा चिसोकै कारण ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
पुस ११, २०८० |सरोज वली
चिसोकै कारण जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटमा चिसोका कारण जाजरकोटमा फेरि एक सुत्केरीको मृत्यु भएको छ ।

जाजरकोट कुशे गाउँपालिका ९, घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको आज (बुधबार) बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए ।

उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान त्रिपालमा बस्दै आएकी थिए ।

यसअघि मंसिर १० गते जाजरकोट नलगाडकी २५ वर्षीय सुत्केरी शर्मिला चदाराको पनि चिसोकै कारण मृत्यु भएको थियो ।

चिसो र झाडापखालाका कारण करिब दुई महिनामा जाजरकोट भूकम्पपीडित ३६ जनाको मृत्यु भएको छ । जाजरकोटमा ३० र रुकुम पश्चिममा ६ जना त्रिपालमुनि बसेका ३६ जनाको चिसो र झाडापखालाले ज्यान गएको हो ।

जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पपछि भूकम्पपीडित त्रिपालमुनि रात बिताइरहेका छन् । बढ्दो चिसोले उनीहरुको दैनिकी कष्टकर बनेको छ । चिसोका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेको छन् । नेपालगन्जमा रहेको भेरी अस्पतालमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा मात्रै झन्डै ५५ हजार परिवार घरवारविहीन छन् भने अहिलेसम्म दुवै जिल्लामा झन्डै साढे पाँच हजार अस्थायी आवास निर्माण भएका छन् ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।