महत्त्वाकांक्षी योजना अघि सार्दा नागरिकका आधारभूत आवश्यकता पूरा गर्न चुक्यो सूर्योदय

चिया खेतीको प्रवर्द्धनमा असफल
प्रतिबद्धता पुरा नगरेको स्थानीयको गुनासो
मंसिर २८, २०८० |विप्लव भट्टराई
महत्त्वाकांक्षी योजना अघि सार्दा नागरिकका आधारभूत आवश्यकता पूरा गर्न चुक्यो सूर्योदय

काठमाडौं । स्थानीय तह निर्वाचनका बेला हरेक उम्मेदवारले सेवा प्रवाहलाई सर्वसुलभ बनाउने, रोजगारी सिर्जना गर्ने, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । विजयी जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि डेढ वर्ष बितिसकेको छ । यस अवधिमा उनीहरुले स्थानीय तहमा के कति गरे ? नागरिकका अपेक्षाअनुसार काम गरे कि गरेनन् ? हामीले स्थानीय तहका जनप्रतिनिधिको डेढ वर्षे कार्यकाल समीक्षा सुरु गरेका छौं । यसैअन्तर्गत आज घामको पहिलो किरणले चुम्ने इलामको सूर्योदय नगपालिकाको समीक्षा गर्दैछौं ।

घामको पहिलो झुल्को पर्ने भएकाले सूर्योदय नाम पाएको यो नगरपालिका पर्यटन र कृषिको व्यवसायिकीकरणमा अग्रणी छ । निर्वाचनका बेला यहााको प्रमुख मुद्दा पनि कृषि र पर्यटन वन्छ । गत वर्ष भएको स्थानीय तह निर्वाचनमा यहाँ गठबन्धनका तर्फबाट प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बने । चियाको राजधानीका रुपमा रहेको यो नगरपालिकामा चुनावताका उनीहरुले चियासहित कृषिलाई व्यावसायिक बनाउँदै रोजगारी सिर्जना गर्ने, पर्यटनलाई जिविकोपार्जनसँग जोड्दै नगरको पूर्वाधार विकास अघि बढाउने बाचा गरेका थिए । तर, कार्यभार सम्हालेको डेढ वर्ष पूरा भइसक्दा पनि जनप्रतिनिधिहरुले प्रतिबद्धताअनुसार काम नगरेको गुनासो मतदाताको छ ।

जनताको गुनासो सुनुवाइ नभएको स्थानीय डुपछिरिङ काजीले बताए । उनले भने, ‘नगरपालिकाले जनताको कुनै पनि क्षेत्रलाई सुनुवाइ गरेको देखिएन । किसान, व्यापारीलगायत विभिन्न पेशामा लागेकालाई करको दायरामा ल्याउने मात्रै कोसिस भयो तर उनीहरुलाई प्रोत्साहन गर्ने काम भएन ।’

नगदेबालीसहित दूध, चियालगायतका कृषि उपजको उत्पादनलाई आधुनिकीकरण गर्दै बजार प्रवर्द्धनको लक्ष्य लिएको नगरपालिकाले चियाको न्युनतम मूल्य तोकेर मूल्य र गुणस्तरमा एकरुपता ल्याउन पहल गरेको छ । तर कार्यान्वयन पक्ष पेचिलो नै बनेको छ ।

नगरका १४ वटै वडामा बाह्रै महिना यातायात सञ्चालन गर्ने गरी काम थालिए पनि पूरा हुन सकेको छैन । पर्यटन विकासका क्रममा श्रीअन्तु र कन्यामको वातावरणीय पक्षलाई ध्यान नदिएको आरोप पनि नगरपालिकाले खेपेको छ । नगरपालिकाले महत्वकांक्षी योजना अघि सार्दा नागरिकको अपेक्षाअनुसार काम नभएको विपक्षी दलहरुको भनाइ छ ।

‘हाम्रो नगरपालिका महत्वाकांक्षी योजनाहरु लिएर अगाडि बढेका कारण नागरिकका आधारभूत आवश्यकताभित्र पर्ने योजना चाहिँ ओझेलमा परेका देखिन्छ।’ नगर उपप्रमुख दुर्गादेवी भट्टराईले भनिन् ।

भारतको दार्जिलिङसँग सीमा जोडिएको यो नगरपालिका चिया र पर्यटनकै कारण चर्चामा छ । तर कंक्रिटका संरचना निर्माण बढ्दा मौलिकता मासिने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । नगरलाई चिर्ने मेची राजमार्ग र अन्य स्थानीय सडकको अवस्था अपेक्षा अनुरुप सुधार नहुँदा स्थानीयलाई सास्ती छ । तर नगरपालिकाका प्रमुख रनबहादुर राई भने कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गर्छन् ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट पनि दोहोरिएका मेयर र उनको टिमले कामै नगरेको भन्नेमा चाहिँ सबै नगरबासी छैनन् । आर्थिक विकासको क्षेत्रमा उत्कृष्ट घोषित नगरपालिका दिगो विकासका १७ वटा लक्ष्यका आधारमा अघि बढेको देखिन्छ ।

विद्यालयस्तरमा विज्ञान र गणित विषयको पढाइसहित समग्र शिक्षा क्षेत्रको सुधार प्रयास गरेको यो नगरपालिकाले महिला र युवालाई स्वाबलम्वी बनाउन पनि पहल गरिरहेको छ । तर अथाह सम्भावना भएर पनि अपेक्षा अनुसारको आर्थिक गतिविधि नबढ्नु, स्थापित बजारहरुमा चहलपहल घट्दै जानु, कृषि क्षेत्रको समग्र अवस्थामा उल्लेख्य सुधार हुन नसक्नु जस्ता कारणले जनप्रतिनिधिसँग स्थानीय अझै सन्तुष्ट भने बन्न सकेका छैनन् । 


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।