भूकम्पबाट बाँचेकाहरुसमेत चिसोकै कारण ज्यान गुमाउँदै

डेढ महिनाकी सुत्केरीसहित ११ जनाको मृत्यु
मंसिर ११, २०८० |सरोज वली
भूकम्पबाट बाँचेकाहरुसमेत चिसोकै कारण ज्यान गुमाउँदै

जाजरकोट । भूकम्पबाट घर भत्किएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोट, नलगाड नगरपालिका ८ तल्लोसिमाकी सुत्केरी २५ वर्षीया शर्मिला चँदाराको चिसोबाट मृत्यु भएको छ ।

उनी प्रादेशिक अस्पताल सुर्खेतबाट शनिबारमात्र डिस्चार्ज भएकी थिइन् । पेटमा जुम्ल्याहा बच्चा भएकी उनले एक छोरीलाई कात्तिक २२ गते जन्म दिएकी थिइन् भने एक बच्चाको जन्मिनुअघि नै मृत्यु भएको थियो । चिसोका कारण जाजरकोटमा सुत्केरीसहित ११ जना भूकम्पपीडितको मृत्यु भइसक्दा पनि सरकारले जोखिममा परेकाहरुको जीवन रक्षामा ध्यान दिन सकेको छैन ।

शर्मिला कात्तिक २२ गते सुत्केरी भएकी थिइन् । उनकी १९ दिनकी छोरीको स्वास्थ्य अवस्था अहिले सामान्य छ । भूकम्पपछि त्रिपालमा रात बिताउँदै आएकी शर्मिलालाई पछिल्लो दुइ सातादेखि चिसोले बिरामी भएकि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि उनलाइ प्रदेश अस्पताल कालाँगाउँ सुर्खेत लगिएको थियो उपचार पश्चात उनलाइ घर पुर्याए लगत्तै उनको मृत्यु भएको आफन्त धनबहादुर चदारा बताउँछन् ।

भूकम्पपीडितको दैनिकी सहज बनाउन स्थानीय तहले सक्दो प्रयास गरिरहेको दाबी गरेको छ । तर बढ्दो चिसोका कारण भूकम्पपीडितले कष्टकर रुपमा रात बिताइरहेका छन् । लगातारको चिसोको कारण जाजरकोटमा सुत्केरी, गर्भवती र बालबालिकालाई समस्या हुने गरेको नलगाड नगरपालिका जाजरकोटका प्रमुख डम्बरबहादुर रावतको भनाइ छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको छ भने ३४६ जना घाइते भएका थिए । अहिले जाजरकोटमा दुई हजार ९५९ सुत्केरी र गर्भवती रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।