पहिचान पक्षधरद्वारा योगेश भट्टराई चढेको गाडीमा तोडफोड

मंसिर १०, २०८० |आनन्द गौतम
पहिचान पक्षधरद्वारा योगेश भट्टराई चढेको गाडीमा तोडफोड

ताप्लेजुङ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडी तोडफोड भएको छ ।

ताप्लेजुङवाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङ्लिङको बसपार्कनजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।

सात/आठ जनाको समूहमा रहेकाहरुले भट्टराई चढेको गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । आक्रमणकारीले हानेको ढुंगा भट्टराई चढेको गाडीको अगाडि सिसामा लागेको छ । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । सिसा फुटे पनि मानवीय चोटपटक नलागेको एमालेले जनाएको छ ।

यसअघि मध्याह्‌न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । भट्टराईको निवासअगाडि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए ।

एमालेका कार्यवाहक जिल्ला अध्यक्ष सन्तोष खतिवडाका अनुसार पहिचान पक्षधरले पार्टी कार्यालयअगाडि पनि प्रदर्शन गरेका छन् ।

पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजीको मुद्दा उठाएका छन् । उनीहरुले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।

यसअघि एमालेकै प्रदेश सांसद तिलकुमार मेन्याङ्बो, माओवादी केन्द्रका इन्द्र आङ्बोलगायत नेतामाथि पनि यही क्षेत्रमा आक्रमण गरिएको थियो ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।