सशस्त्र द्वन्द्वका बेला ध्वस्त भएको दुल्लु दरबारको अझै भएन पुनर्निर्माण

भाद्र ३१, २०८० |चक्र भण्डारी
सशस्त्र द्वन्द्वका बेला ध्वस्त भएको दुल्लु दरबारको अझै भएन पुनर्निर्माण

दैलेख । सशस्त्र द्वन्द्वको बेला ध्वस्त बनाइएको दैलेखको ऐतिहासिक दुल्लु दरबार अझै पुनःनिर्माण हुन सकेको छैन । फोहोर फाल्ने ठाउँमा परिणत भएको दरबार परिसर झाडीले पुरिएको छ । दरबार पुनःनिर्माणका लागि स्थानीयले पटकपटक आग्रह गरे पनि पुरातत्व विभागको बेवास्ताले यो काम अघि बढ्न सकेको छैन ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही नेकपा माओवादीले २०५९ साल वैशाख ८ गते मध्येरातमा ऐतिहासिक दुल्लु दरबार बम पड्काएर ध्वस्त पार्‍यो । जुम्लाका खस मल्ल राजाको हिउँदे राजधानी दैलेखको दुल्लु दरबारको पुन:निर्माण नहुँदा यो ऐतिहासिक सम्पदाको अस्तित्व लोप हुने हो कि भन्ने स्थानीयको चिन्ता छ । स्थानीय सामग्री प्रयोग गरेर बनेको ३ तीन तले यो दरबारमा ५२ वटा झ्याल ढोका थिए ।

दैलेख, भैरवी गाउँपालिका-२ का नरबहादुर थापाले यो दरबार खसकालको ऐतिहासिक धरोहर भएकाले पुन:निर्माण गरी संरक्षण गरिनु पर्ने जनाए । उनले भने, ‘यो खसकालको एउटा ऐतिहासिक धरोहर हो । यसलाई निर्माण गरी इतिहासलाई जोगाउनु पर्छ ।’

भत्किएको दरबारसँगै रहेको विजया मन्दिर, देवल, पाथरनावली मूर्ति र अड्डा घरको संरक्षण हुन नसक्दा भत्कदै नासिँदै जाने अवस्थामा छन् । राजाहरुले आफ्नो राज्यभित्रका समुदायको न्याय र सजायको फैसला गर्ने स्थान धर्म गद्दीकोसमेत अस्तित्व मेटिन थालेको छ ।

दुल्लु नगरपालिका-८ की पुजारी नारायणकुमारी गिरीले राजाको समयमा न्याय छिन्ने यो स्थान जीर्ण भइसक्दा पनि कसैले वास्ता नगरेको गुनासो गरिन् । उनले भनिन्, ‘राजाको पालामा न्याय छिन्ने ठाउँ हो । अहिले जीर्ण भइसक्यो । कसैले हेर्दैन क्यार !’

तिमीहरु नर्कमा परौँला अथवा यो हुन्छ, उस्तो हुन्छ भनेर डर देखाएर भएपनि सत्य वक्न लगाउने ठाउँ भएकाले यस स्थानको नाम धर्म गद्दी भनिएको दुल्लु नपा-७ का शिक्षक भोलाविक्रम शाह बताउँछन् ।

दुल्लु दरबारबाट अन्तिम राजा जंगबहादुर शाहले राजकाज चलाएका थिए । जुम्लाको सिँजा सभ्यताको ऐतिहासिक यो दरबार ध्वस्त पार्ने माओवादी शान्ति प्रक्रियामा आएको पनि दशकौँ भइसक्यो । माओवादीले पटकपटक सत्ताको नेतृत्व गर्ने अवसर पनि पाएको छ तर यो सम्पदा पुन:निर्माणको लागि कुनै काम भएको छैन ।

दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले ऐतिहासिक दुल्लु दरबारको पुन:निर्माण र संरक्षणका लागि पहल भइरहेको जानकारी दिए । उनले भने, ‘यसको संरक्षण र संवर्द्धन गर्न पुरातत्व विभाग, नगरपालिका, प्रदेश सरकार र पर्यटन मन्त्रालय छ । साथै जिल्लाबासीलाई पनि हामीले सहकार्यका गरेर छिटोभन्दा छिटो अगाडि बढाउनु पर्छ भनेर पहल थालनी गरेका छौँ ।’

द्वन्द्वकालमा दैलेखका दुल्लु, अछामको मंगलसेन र दैलेख सदरमुकामको गौ डा गरी ३ वटा दरबार ध्वस्त भएका थिए । तीमध्ये दैलेख गौडा दरबार पुन:निर्माण भइसकेको छ भने अछाम मंगलसेनको निर्माणधीन अवस्थामा छ । धार्मिक र ऐतिहासिक सम्पदाले भरिएको दुल्लु क्षेत्रको यो दरबारको पनि संरक्षण हुन सकेमा यसले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने देखिन्छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।