डीएसपी निलम्बनको माग गर्दै तरुण दलको प्रदर्शन, प्रहरीले गर्‍यो हवाई फायर

भाद्र २२, २०८० |आनन्द गौतम
डीएसपी निलम्बनको माग गर्दै तरुण दलको प्रदर्शन, प्रहरीले गर्‍यो हवाई फायर

ताप्लेजुङ । ताप्लेजुङका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) एसपी राजन लिम्बूको निलम्बन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले प्रदर्शन गरेको छ ।

उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगासमेत प्रहार गरेका छन् । प्रहरीले भने हवाई फायर गरेको छ । ‘प्रहरीको हातहतियार खोस्न खोजेको र प्रहरीलाई लखेटेपछि विवाद उत्पन्न भएको हो,’ डीएसपी लिम्बूले कान्तिपुर टेलिभिजनसँग भने ।

तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छ । प्रदेश सांसद खगेनसिंह हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल आन्दोलित भएको हो । हिजो (बिहीबार) बेलुका प्रहरीले सांसदको निवासको ढोकामा लात्ती हान्नुका साथै आक्रमण गरेको भन्दै कांग्रेस र भ्रातृ संगठन आन्दोलित भएको हो । तरुण दलका ताप्लेजुङ जिल्लाको कार्यवाहक सभापति पृथ्वीमान पालुङ्वाले भने, ‘सांसदको निवासमा प्रहरीले नियोजित आक्रमणको गरेको हो । त्यसैले हामी आन्दोलित बनेका हौं ।’


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।