विकासको सम्भावनालाई उकास्दै मदन भण्डारी राजमार्ग

असार २२, २०८० |भोटराज राई
विकासको सम्भावनालाई उकास्दै मदन भण्डारी राजमार्ग

उदयपुर । मदन भण्डारी राजमार्गले उदयपुर र सिन्धुलीको विकासको सम्भावनालाई माथि उठाएको छ । उदयपुर सदरमुकाम गाईघाटको मध्यभाग हुँदै गएको यो राजमार्गले जिल्लाका ८ मध्ये ६ वटा पालिका क्रमशः बेलका, चौदण्डीगढी, त्रियुगा, रौतामाई, उदयपुरगढी र कटारीलाई छोएर सिन्धुली जोड्छ ।

उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म १३४ किलोमिटर सडक पर्छ । मदनभण्डारी राजमार्गअन्तर्गतको दुईलेनको यो सडक अहिले कालोपत्रे बनेको छ । यो सडक बनेपछि पूर्व–पश्चिमको यात्रा सहज बनेको छ । मुख्यगरी पूर्वी नेपालबाट संघीय राजधानी काठमाडौं पुग्न सहज बनेको छ ।

‘यो राजमार्ग एकदम राम्रो बनेको छ । गाडी चलाउन पनि सजिलो भइरहेको छ । अस्ति–अस्ति पुल थिएन अफ्यारो थियो । खैराझोरामा डुब्थ्यो गाडी । अहिले सजिलो भएको छ,’ गाडी चालक प्रेम राजधामीले भने । यस्तै सुनसरीका मनोज कार्कीले यात्रुलाई यो राजमार्गले गर्दा सहज भएको प्रतिक्रिया दिए ।

मधेश आन्दोलनताका पूर्व–पश्चिम राजमार्ग अस्तव्यस्त बनेपछि सरकारले परिकल्पना गरेको वैकल्पिक राजमार्गको परिकल्पना अहिले साकार भएको हो । ‘राजमार्ग ६ वटा पालिका भएर गएको छ,’ त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले भने, ‘यो राजमार्गले आर्थिक विकासमा टेवा पुर्याएको छ ।’ उनले सडक निर्माण भएपछि विकास निर्माणमा भएको मद्दतले स्थानीय बासिन्दा खुसी रहेको पनि दाबी गरे ।

सडकले छोएका ठाउँमा बजारीकरण भएसँगै जग्गाको मूल्यवृद्धि भएको छ । सँगै कृषि उत्पादन, उद्यम प्रवर्द्धन र बजारीकरण पनि भएको छ । राजमार्गले उदयपुरमा रहेका होटेल व्यवसायीलाई मद्दत पुर्याएको व्यवसायी प्रज्वल अधिकारीको भनाइ छ ।

समग्रमा ९८ प्रतिशत निर्माणकार्य सकिएको राजमार्ग पूर्ण रूपले सञ्चालनमा भने आइसकेको छैन । कोरोनाकाल र पछिल्लोपटक सरकारले आवश्यक न्युनतम् बजेट नछुट्याउदा केही खोलामा पुल निर्माण अधुरो छ ।

‘हामीलाई आवश्यकभन्दा कम बजेट विनियोजन भएकाले निर्माण व्यवसायीहरूलाई दायित्व सिर्जना गरी जबरजस्ती काम गराउन सक्ने अवस्था नरहेकाले निर्माणकार्यमा ढिलाइ भएको हो,’ गाईघाट–दिक्तेल सडक योजना उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले भने, ‘तैपनि हामीले आगामी सालमा सम्पूर्ण निर्माणकार्य सम्पन्न भई शतप्रतिशत सञ्चालनमा आउने अवस्था छ ।’

सरकारले करिब १३ अर्ब लगानी गरिसकेको यो सडकमा अब ३० करोड लगानी अभाव छ ।

राष्ट्रिय प्राथमिकताको यो राजमार्गले देशलाई टेवा पुर्याउनेमा दुईमत छैन । तसर्थ यसलाई छिट्टै पूर्णता दिन सकियोस् ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।