भ्यालेन्टाइन सप्ताह : ७० प्रतिशत गुलाब देश बाहिरबाटै आउँछ

माघ २७, २०७९ |अश्विनी सिटौला
भ्यालेन्टाइन सप्ताह : ७० प्रतिशत गुलाब देश बाहिरबाटै आउँछ

काठमाडौं । अङ्ग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ तारिखमा विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइन्छ । यसको सात दिन अघिदेखि नै प्रेमिल जोडी र युवायुवती प्रेम र प्रणयको सन्देशसहित गुलाब साटासाट गर्छन् । तर प्रेम साटासाट गर्न नेपालमा फुलेका गुलाबले मात्र पुग्दैन । प्रणय दिवसको आसपास करिब एक लाख ५० हजार फूलको माग हुने भए पनि नेपालमा भने ३० प्रतिशत मात्रै फूल उत्पादन हुने गरेको छ । बाँकी ७० प्रतिशत फूलको लागि भने नेपालका युवायुवतीले भारत, बेल्जियम, भियतनाम, थाइल्यान्ड, बंगलादेशलगायत देशको भर पर्नुपर्छ ।

१४ फेब्रुअरी प्रेम गर्ने युवायुवतीका लागि विशेष दिन । यस दिन प्रेमी प्रेमिकासँगै आफन्त र परिवारमा प्रेम, सद्भाव र प्रणय साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय १४ फेब्रुअरी आउनुअघि नै सप्ताहव्यापी रूपमा मनाइन्छ । मायालु जोडीहरू आपसमा प्रेमको प्रतीक गुलाबको फूल उपहार दिएर प्रेम भाव साटासाट गर्ने गर्दछन् ।

त्यसो त नेपालमा वार्षिक २० करोडको गुलाब फूलको कारोबार हुने गरेको छ । फेब्रुअरीको पहिलो साता मात्र दुई करोडको कारोबार हुन्छ । आयात गरिएका गुलाबमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६० प्रतिशत खपत हुन्छ । यस वर्ष गुलाबको मूल्य खासै नबढेको व्यापारीहरू बताउँछन् । यसपालि प्रतिगुलाब ७० देखि १०० रुपैयाँसम्ममा उपभोक्ताले खरिद गर्न पाउनेछन् ।

नेपालमा वार्षिक २० करोडको गुलाब फूलको कारोबार हुने गरेको छ । फेब्रुअरीको पहिलो साता मात्र दुई करोडको कारोबार हुन्छ ।

विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसमा रातो गुलाबको माग कम भएको व्यवसायी बताउँछन् । बजार माग कम भएकाले रातो गुलाब फूलको आयात गत वर्षको तुलनामा यसपालि कम भएको छ । गत वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार 'स्टिक' गुलाब आयात गरिएकामा यो वर्ष भने एक करोड मूल्यको एक लाख २० हजार 'स्टिक' गुलाब मात्र आयात गरिएको छ ।

नेपालमा प्रणय दिवसको आसपास एक लाख स्टिक गुलाब माया आदानप्रदानका क्रममा खपत हुन्छन् । त्यसमध्ये ३० हजार स्वदेशमै उत्पादन हुन्छ । बाँकी एक लाख २० हजार स्टिक भारत, बेल्जियम, भियतनाम, थाइल्यान्ड, बंगलादेशलगायत देशबाट ल्याइन्छ ।

नेपालमा पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै २००७ सालबाट सुरु भएको हो । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्प खेती तथा नर्सरी विस्तार भइसकेको छ । व्यावसायिक रूपमा गुलाबका चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक सय ५३ हेक्टरमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।


Image

अश्विनी सिटौला

सिटौला कान्तिपुर टीभीमा कार्यरत छिन् ।