मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

कार्तिक २८, २०७९
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समिति संयोजक कमलेश डीसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध प्रश्नपत्रको गोपनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदातलमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा सोही ऐनको दफा १३ बमोजिम सजाय गर्न अख्तियारले मागदाबी गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्तिमार्फत जनाएका छन् ।

अख्तियारले आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनोट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनोट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको उनीहरुमाथि आरोप लगाएको छ ।


Enter Kantipur TV HD
Advertisement