खुला विश्वविद्यालय झण्डै एक वर्षदेखि डिनविहीन

असार ३१, २०७९
खुला विश्वविद्यालय झण्डै एक वर्षदेखि डिनविहीन

वैकल्पिक माध्यमबाट उच्चशिक्षा दिने उद्देश्यले स्थापना भएको खुला विश्वविद्यालय झण्डै एक वर्षदेखि डिनविहीन अवस्थामा छ । विश्वविद्यालयका तीनवटै संकायमा राजनीतिक भागवण्डा नमिल्दा लामोसमयदेखि  डीन नियुक्त हुन नसकेको हो । यसले विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक काम प्रभावित भएका छन् ।

२०७३ सालमा स्थापना भएको खुला विश्वविद्यालयमा स्नातकदेखि विद्यावारिधिसम्ममा ३५ सय विद्यार्थी अध्ययनरत छन् । यो विश्वविद्यालयमा व्यवस्थापन र कानून, सामाजिकशास्त्र तथा शिक्षा र विज्ञान स्वाथ्य तथा प्रविधि गरि ३ वटा संकायमा १९ विषयको पठनपाठन भइरहेको छ । तीनवटै संकायको डीन रिक्त भएको झण्डै एक वर्षपुग्न लाग्दा समेत नियुक्त नहुँदा शैक्षिक तथा प्रशासनिक काममा समस्या आउन थालेको छ । 

रोजगारीलगायतका विभिन्न कारणले उच्चशिक्षा हासिल गर्न नसकेकालाई यो विश्वविद्यालयले वैकल्पिक माध्यमबाट उच्चशिक्षा दिँदै आएको छ । डिन नहुँदा विभिन्न देशमा रहेका नेपाली विद्यार्थीको परीक्षा सञ्चालनमा समेत समस्या छ । शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीबीच भागबण्डा नमिल्दा डिन नियुक्त हुन नसकेको हो । राजनीतिक भागवण्डाकै कारण वर्ष दिनसम्म प्राज्ञिक संस्थामा डीन नियुक्त गर्न नसक्नु सरकारको गैरजिम्मेवारी मात्र नभएर मुलुककै दुर्भाग्य भएको विज्ञको बुझाइ छ ।

शिक्षा मन्त्रालय पनि प्राज्ञिक थलोमा लामो समयदेखि नियुक्तिमा ढिलाइ गर्न नहुनेमा स्पष्ट छ । मन्त्रालयले यथाशीघ्र नियुक्त गर्न आग्रह गरेको छ । उच्चशिक्षा अध्ययन अनुसन्धान गर्ने विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा यो वा त्यो वाहनामा नियुक्तिमा ढिलाइ गर्नु उचित मानिँदैन । 


Enter Kantipur TV HD
Advertisement