लुम्बिनीका प्रदेशसभा सदस्य प्रदेशमै उम्मेदवार बन्ने तयारीमा

आश्विन १८, २०७९
लुम्बिनीका प्रदेशसभा सदस्य प्रदेशमै उम्मेदवार बन्ने तयारीमा

दलहरुले समानुपातिक सांसद नदोहोर्‍याउने निर्णय गरेपनि प्रत्यक्षतर्फ कुनै निर्णय गरेका छैनन् । यसले प्रत्यक्षका सांसदलाई दोहोरिने सुबिधा छ । यही सुबिधा पाएर होला लुम्बिनी प्रदेश सभाका अधिकांश सांसद प्रदेशमै उमेदवार बन्ने तरखरमा छन् ।

गुल्मीका सुदर्शन बराल २०६४ मा गुल्मी क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचन जिते । तिनै बराल २०७४ मा गुल्मीको १ -क) बाट प्रदेश सांसद हुदै सामाजिक विकास मन्त्री बने । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षसमेत रहेका बराल अहिलेपनि प्रदेशसभामै दोहोरिने र मुख्यमन्त्री बन्ने मनसायमा छन् । 

एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी इन्चार्ज लीला गिरीसमेत प्रदेशसभामा दोहोरिने तयारीमा छन् । गिरीको निर्वाचन क्षेत्र रूपन्देही २ मा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार बन्ने पक्का हुनु र प्रदेशमा मन्त्री मात्र होइन मुख्यमन्त्री नै बन्नसक्ने अवसर देखेपछि उनी प्रदेशमै खुम्चिन चाहेका हुन ।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका माओवादी नेता कूलप्रसाद केसीको चाहना पनि प्रदेशमै दोहोरिने र फेरि मुख्यमन्त्री बन्ने छ । तर, रोल्पा क्षेत्र नम्बर १ -क) बाट निर्वाचित उनको स्थानमा गठबन्धनका तर्फबाट कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनको दाबी छ । 

गठबन्धनमा आधा/आधा समय प्रदेशको नेतृत्व माओवादी र कांग्रेसले गर्ने सहमति भएपनि कार्यान्वयनमा नजादा कांग्रेस दलका नेता वीरेन्ऽकुमार कनोडियाको मुख्यमन्त्री बन्ने चाहना पूरा हुन सकेन । उनी फेरि प्रदेशको उम्मेदवार हुने र मुख्यमन्त्रीमा दाबी गर्ने मनसायमा छन् । एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, कांग्रेसका फकरुद्धिन खाान, माओवादीका तुलाराम घर्तीमगर, उपसभामुख कृष्णी थारु, बहाल तथा पूर्वमन्त्री तिलकराम शर्मा, इन्द्रजीत थारु, आरती पौडेल, भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, डिल्ली चौधरी लगायत पनि प्रदेश सभामै दोहोरिदै छन् ।

प्रदेशसभाको क्षेत्र थोरै हुने जित्न सजिलो हुने र जितेपछि मन्त्री वा विषयगत समिति सभापति बन्न सकिने चाहनाले पनि पहिलो कार्यकाल सांसद बनेका प्रदेशसभाका प्रभावशालीहरु दोस्रो पटक पनि प्रदेश सभामै जान चाहेका छन् । 


Enter Kantipur TV HD
Advertisement