मदिरा नीति घोटाला प्रकरण : दिल्लीका मुख्यमन्त्रीलाई थप १४ दिन हिरासतमै बस्नुपर्ने

सुगरको मात्रा बढेपछि जेलमै दिइयो इन्सुलिन
वैशाख ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
मदिरा नीति घोटाला प्रकरण : दिल्लीका मुख्यमन्त्रीलाई थप १४ दिन हिरासतमै बस्नुपर्ने

काठमाडौं । मदिरा नीति घोटाला प्रकरणमा जेल परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल थप १४ दिन हिरासतमै बस्नुपर्ने भएको छ । अदालतले आगामी मे ७ सम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न ईडीलाई अनुमति दिएको हो ।

दिल्लीस्थित राउज एवेन्यु जिल्ला अदालतले आमआदमी पार्टीका राष्ट्रिय संयोजक केजरीवाल, भारत राष्ट्रिय समितिकी नेता के. कविता र चनप्रित सिंहको न्यायिक हिरासत आगामी मे ७ सम्म बढाउने निर्णय गरेको हो । मदिरा नीति घोटाला प्रकरणमा ईडीले गिरफ्तार गरेकी के. कवितालाई पछि सीबीआईले पनि सोही प्रकरणमा गिरफ्तार गरेको थियो ।

सीबीआईले हेरिरहेको मुद्दामा अदालते के कविताको न्यायिक हिरासत थप गरेको हो । केजरीवाल र कविता दुवै तिहाड जेलमा छन् । केजरीवाललाई ईडीले गत मार्च २१ मा गिरफ्तार गरेको थियो भने त्यसको एक साताअघि अर्थात् १५ मार्चमा ईडीले कवितालाई हैदराबादबाट गिरफ्तार गरेको थियो ।

चनप्रितलाई भने ईडीले यही अप्रिल १५ मा पक्राउ गरेको हो । तीनै जनाको सुनुवाइ आज भिडियो कन्फ्रेन्सिङमार्फत गरिएको थियो । के. कविता तेलंगानाका पूर्वमुख्यमन्त्री के. चन्द्रशेखर रावकी छोरी हुन् भने लोकसभाकी पूर्वसांसदसमेत हुन् । मदिरा बिक्रीको लाइसेन्स प्राप्तिका लागि आमआदमी पार्टीलाई एक करोड रुपियाँ घुस दिने काममा संलग्न साउथ ग्रुपको एक मुख्य व्यक्ति रहेको आरोप कवितामाथि लगाइएको छ ।

यसैबीच तिहाड जेलमा बन्द रहेका केजरीवाललाई सोमबार साँझ पहिलोपटक इन्सुलिन दिइएको छ । सोमबारै जिल्ला अदालतले आफ्नी श्रीमतीको उपस्थितिमा निजी चिकित्सकसँग दैनिक १५ मिनेट चिकित्सकीय परामर्श गर्न पाउनुपर्ने भन्दै केजरीवालले गरेको आग्रह अस्वीकार गरेको थियो ।

ब्लड सुगरको लेभल बढेपछि एम्सका चिकित्सकको सुझावअनुसार उनलाई कम डोजको इन्सुलिन दिइएको भारतीय समाचार माध्यमले जनाएका छन् ।



Enter Kantipur TV HD
Advertisement