इरानमाथि इजरायलको क्षेप्यास्त्र र ड्रोन आक्रमण

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
 इरानमाथि इजरायलको क्षेप्यास्त्र र ड्रोन आक्रमण

काठमाडौं । इजरायलले इरानमाथि आज बिहानै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । इरानी सरकारी सञ्चार माध्यमले केन्द्रीय प्रान्त इस्फहानमा विस्फोट भएको जनाएको छ । इस्फहानमा रहेको सेनाको हवाई अखाडा नजिकै थुप्रै विस्फोटका आवाज सुनिएको जनाइको छ ।

उता इरानी सेनाले इसफान सहर नजिकै तीनवटा इजरायली ड्रोनलाई खसालेको दाबी गरेको छ । क्षेप्यास्त्र र ड्रोन प्रहारबाट के कस्तो क्षति भयो भन्ने कुराको विस्तृत विवरण आइसकेको छैन । आक्रमण भएलगत्तै इरानको राजधानी तेहरान इस्फहान र शिराज सहरको आकाशमाथि भएर उड्ने विमानहरुको मार्ग परिवर्तित गरिएको जनाइएको छ ।

इरानले गत शनिबार इजरायलमाथि ३ सयभन्दा बढी ड्रोनले आक्रमण गरेको थियो । त्यसैको बदलामा इजरायलले जवाफी कारबाही गरेको हो । यही अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा गरेको आक्रमण इरानको रिभोल्युसनरी गार्ड्सका एक उच्च कमाण्डरसहित कम्तिमा ८ अधिकारी मारिएका थिए । 

त्यसैको बदलामा इरानले रमजान सकिएलगत्तै इजरायलमाथि सयौं ड्रोन प्रहार गरेको थियो । इरानले प्रहार गरेका ड्रोनलाई इजरायलले अमेरिका र जोर्डनको सेनाको सहयोगमा आकाशमै ध्वस्त पारेको थियो ।

इजरायल र हमासबीच विगत छ महिनादेखि गाजामा युद्ध जारी छ भने इजरायल र इरानबीचको प्रत्यक्ष द्वन्द्वले समग्र मध्यपूर्वकै शान्ति खलबल्याउँने खतरा बढाएको छ ।

 ( प्रयोग गरिएको फोटो फाइल फोटो हो । )


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement