काठमाडौं । आगामी नीति तथा कार्यक्रममा बालबालिका र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकताका साथ समेट्नुपर्नेमा सरोकारवालाहरुले जोडदिएका छन् ।
सामाजिक सुरक्षा नागरिक समाज नेपालले काठमाडौंमा गरेको अन्तर्क्रियामा वक्ताहरूले बालबालिकामाथि लगानी कम हुँदाको असर राष्ट्र निर्माणमा पनि देखिने बताए । बालबालिकालाई पोषणको अधिकार अनिवार्य कार्यान्वयनमा लैजानुपर्ने उनीहरूको भनाइ थियो ।
वक्ताहरूले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा सबैलाई आबद्ध गर्नु, योजनालाई वित्तीय रूपमा दिगो बनाउनु, सामाजिक सुरक्षालाई आर्थिक सामाजिक विकासका अन्य क्षेत्रका नीति तथा कार्यक्रमसँग आबद्ध गर्नु चुनौतीको विषय भएको बताए ।
राष्ट्रिय योजना आयोगका लोकनाथ भुसालले सामाजिक सुरक्षाको दायरामा सबैलाई ल्याउनुपर्ने र बालबालिकालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा नागरिक समाज नेपालका अध्यक्ष तिलोतम पौडेलले नेपालमा सामाजिक सुरक्षा र बालअनुदानको विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।