गाजामा युद्धविराम रोक्ने संकल्प प्रस्ताव पारित, रोकिएन इजरायलको आक्रमण

चैत्र १४, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा युद्धविराम रोक्ने संकल्प प्रस्ताव पारित, रोकिएन इजरायलको आक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा तत्काल युद्धविराम गर्नुपर्ने संकल्प प्रस्ताव पारित गरे पनि इजरायलले आक्रमण रोकेको छैन ।

इजरायलको आक्रमणका कारण रमजानमा समेत गाजा शान्त हुन सकेको छैन । दक्षिणी सहर रफाहमा मंगलबार इजरायलले ठूलो हवाई आक्रमण गरेको रोयटर्सले उल्लेख गरेको छ । स्वास्थ्य अधिकारीका अनुसार उक्त हवाई आक्रमणमा आठ बालबालिकासहित १८ जनाको ज्यान गएको छ ।

गाजाको २३ लाख जनसंख्यामध्ये करिब आधा जनसंख्या इजिप्टको सीमावर्ती सहर रफाहमा शरण लिइरहेका छन् ।

इजरायली सेनाले यस महिनाको सुरुमै हमासका डेपुटी कमान्डर मार्वान इसा हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले इजरायली ट्यांक र हतियारसहितका गाडीले खान युनिसको अस्पताललाई घेराउ गरेको र सैन्य कारबाहीका कारण अस्पतालले सेवा दिन नसकेको जनाएको छ ।

अक्टोबर ७ देखि गाजामा जारी इजरायली आक्रमणमा कम्तीमा ३२ हजार ४१४ प्यालेस्टिनी मारिएका छन् र ७४ हजार ७८७ घाइते भएका छन् ।



Enter Kantipur TV HD
Advertisement