मस्को भ्रमणमा पुगे दक्षिण अफ्रिकी स्थल सेना प्रमुख

जेष्ठ २, २०८० |कान्तिपुर टीभी संवाददाता
मस्को भ्रमणमा पुगे दक्षिण अफ्रिकी स्थल सेना प्रमुख

मस्को । दक्षिण अफ्रिकाले युक्रेनविरुद्धको युद्धमा रुसलाई गोप्य रूपमा हतियार र गोला बारुद आपूर्ति गरेको अमेरिकी आरोप जारी रहँदा दक्षिण अफ्रिकी स्थल सेना प्रमुख मस्को भ्रमणमा पुगेका छन् ।

दक्षिण अफ्रिकी नेशनल डिफेन्स फोर्सले भने सेना प्रमुखको मस्को भ्रमण धेरै पहिलेदेखि नै तय रहेको र रुसी सेनाको आमन्त्रणमा भएको सद्भाव भ्रमण भएको बताएको छ । 

सेनाद्वारा जारी विज्ञप्तिमा लेफ्टिनेन्ट जनरल लरेन्स एमबाथा द्विपक्षीय बैठकका लागि मस्को पुगेको जनाइएको छ । विज्ञप्तिमा दक्षिण अफ्रिकी सेनाको विश्वका थुप्रै देशका सेनासँग द्विपक्षीय सम्बन्ध रहेको र यस क्रममा साझा चासोका विषयबारे छलफल गर्न विभिन्न देशका सैन्य टोलीहरू भ्रमणमा आउने र जाने प्रक्रिया भइरहने उल्लेख गरिएको छ । 

यसैबीच रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले दुवै देशका सेना प्रमुखबिच पारस्परिक सहयोग वृद्धि गर्ने सहमति भएको जनाएको छ । 

गत साता मात्रै दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूत रुबेन ब्रिगेटीले गत डिसेम्बरमा एउटा रुसी पानीजहाज दक्षिण अफ्रिकाको बन्दरगाहबाट हातहतियार र गोला बारुद बोकेर मस्कोतर्फ फर्किएको आरोप लगाएका थिए । रुस–युक्रेन युद्धमा तटस्थ रहने घोषणा गरेको देशले मस्कोलाई हतियार आपूर्ति गर्नु अस्वीकार्य रहेको र यसले वासिङ्गटनलाई गम्भीर बनाए ब्रिगेटीको भनाइ छ ।  

अमेरिकी आरोप लगत्तै दक्षिण अफ्रिकाका राष्ट्रपतिले यस सम्बन्धमा छानबिन गर्न स्वतन्त्र समिति बनाएको घोषणासमेत गरेका थिए । 

दक्षिण अफ्रिकाले रुसी आक्रमणको अहिलेसम्म भर्त्सना गरेको छैन भने रुसविरुद्ध प्रतिबन्ध लगाउने कार्यमा साथ दिन अमेरिका र युरोपले गरेको आग्रहलाई पनि अस्वीकार गर्दै आएको छ । यस वर्षको फेब्रुअरीमा दक्षिण अफ्रिकाले रुस र चीनसँग मिलेर १० दिनसम्म संयुक्त नौसैनिक अभ्यास गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.