जनशक्ति अभावमा नागरिक अझै उपचार पाउनबाट वञ्चित

चैत्र २५, २०८० |कृपाल गौतम
जनशक्ति अभावमा नागरिक अझै उपचार पाउनबाट वञ्चित

काठमाडौं । नेपालले दुई दशकअघिको तुलनामा स्वास्थ्य उपचारको क्षेत्रमा धेरै फड्को मारिसकेको छ । कुनै बेला मुटु, मिर्गौला, कलेजोजस्ता जटिल रोगको उपचार गराउन विदेश धाउनुपर्ने अवस्था रहेकोमा अहिले स्वदेशमै सम्भव भएको छ । आँखा उपचारमा त उल्लेख्य उपलब्धि नै हासिल भएको छ । तर उपचारको दायरा बिस्तार र जनशक्ति व्यवस्थापन गर्न नसक्दा अझै पनि ठूलो संख्यामा नागरिक उपचार सेवाबाट वञ्चित छन् ।

कुनै बेला नेपालीलाई उपचारका लागि भारतलगायतका देश जानुपर्ने बाध्यता रहेकोमा अहिले त्यो हटेको छ । पछिल्ला वर्षमा स्वदेशमै अत्याधुनिक उपचार सुविधा उपलब्ध हुन थालेका छन् । जस्तो, मिर्गौला तथा कलेजो प्रत्यारोपण नेपालमै हुने गरेका छन् । क्यान्सर, मुटुलगायतको उपचारमा समेत नेपालले फड्को मारिसकेको छ । तर यो पर्याप्त छैन । नेपालमा बर्सेनि ३ हजारको मिर्गौला फेल हुने गरेकोमा जम्मा ३ सयको मात्र प्रत्यारोपण हुने गरेको छ । यसैगरी बर्सेनि १ हजारको कलेजो प्रत्यारोपण गर्नुपर्ने भए पनि यो वर्ष नेपालमा १५ जनाको मात्र कलेजो प्रत्यारोपण भयो । यी सेवा पनि काठमाडौं केन्द्रित छन् । उपचार क्षमता विकास गरिसके पनि जनशक्ति व्यवस्थापन र सेवामा सबैको पहुँच पुर्‍याउन सरकार चुकिरहेको छ ।

नेपालमा सन् २०१९ मा गरिएको एक अध्ययनअनुसार १५ देखि ६९ वर्ष उमेर समूहका २४ दशमलब ५ प्रतिशत नागरिकमा उच्च रक्तचाप छ । ५ दशमलब ८ प्रतिशतमा मधुमेह र ३ दशमलव ३ प्रतिशतमा मुटुको समस्या छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा क्यान्सरका साढे २१ हजार बिरामी थपिएका छन् ।

सरकारले २०३० को दिगो विकास लक्ष्य हासिल गर्न विभिन्न नीति तथा रणनीतिसमेत अबलम्बन गरेको छ । जसमा मातृ मृत्यु, बाल मृत्यु, पोषण लगायतमा हासिल गर्नुपर्ने छ । त्यसबाहेक जनशक्ति व्यवस्थापनदेखि स्वास्थ्य सेवा वृद्धि गर्ने प्रयास भइरहे पनि चुनौती कायमै रहेको स्वास्थ्य मन्त्रालय बताउँछ ।

नेपालको आँखा उपचार सेवा विश्वकै उत्कृष्ट मानिन्छ । नेपालमा उत्पादन हुने इन्ट्राअकुलर लेन्सको विश्वभर माग छ । नेपालीमात्र नभइ विदेशीसमेत आँखा उपचारका लागि नेपाल आउने गर्छन् । यस्तै, नेपालले मातृ तथा शिशु मृत्युदर घटाउन उल्लेख्य प्रगति गरेकाले अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेको छ । तर, यति हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि पर्याप्त छैनन् ।

त्यसैले विश्व स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा स्वास्थ्य सेवाको पहुँच र बिस्तारका लागि सरकारले सोच्नुपर्ने छ । सरकारको स्वामित्वमा आँखा अस्पताल नभए पनि आँखाको क्षेत्रमा प्रगति गर्नुको मुख्य कारण नै साझेदारी हो । त्यसरी नै अन्य क्षेत्रमा पनि साझेदारीको नीति अवलम्बन गरी सेवालाई गुणस्तरीय बनाउन आवश्यक छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।