पोषणकै लागि बर्सेनि डेढ अर्बबढी सरकारको खर्च, उपलब्धि न्यून

चैत्र २२, २०८० |कृपाल गौतम
पोषणकै लागि बर्सेनि डेढ अर्बबढी सरकारको खर्च, उपलब्धि न्यून

काठमाडौं । तपाईं बालबालिकाको आहारमा कत्तिको ध्यान दिनुहुन्छ ? के उनीहरूले शारीरिक एव मानसिक विकासका लागि नभई नहुने पौष्टिक पदार्थ पाएका छन् ? यदि छैन भने ख्याल गर्नुस्, पौष्टिक तत्वको कमीका कारण रक्तअल्पता, पुड्कोपना, कुपोषणजस्ता समस्या देखिन सक्छन् । यतिमात्र होइन, बालबालिकाको ज्यान नै जोखिममा पर्न सक्छ ।

हामीले दैनिक खाने अन्न, दाल, सँगपात, फलफुल पोषणका प्रमुख स्रोत हुन् । तर, आजकाल बजारमा जताततै पाइने पोषकतत्वरहित खाद्यपदार्थको बढ्दो प्रयोगले पनि कुपोषण निम्त्याइरहेको छ । हाम्रो खेतबारीमा पोषण छ तर पहिचान गर्न सकिरहेका छैनौ । पोषणकै लागि स्वास्थ्य मन्त्रालयले बर्सेनी डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्छ । तर प्रतिफल हेर्ने हो भने निराशाजनक छ । ५ वर्षमुनिका बालबालिकामध्ये सबैभन्दा बढी मधेश प्रदेशमा ६६ प्रतिशत कुपोषित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यसैगरी, कर्णालीमा ५८, सुदूरपश्चिममा ४७, गण्डकीमा ४२, कोशीमा ३७ र बागमतीमा ३४ प्रतिशत बालबालिकामा कुपोषण छ ।

सन् २०२२ को नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६ देखि ५९ महिनाका २५ प्रतिशत बालबालिकामा पुड्कोपन छ । २४ प्रतिशतमा कमतौल र ८ प्रतिशत बालबालिकामा ख्याउटेपन छ । यी सबैको मूल कारण हो, पौष्टिक तत्वको कमी । शरीरलाई चाहिने आहार नपाउँदा बालबालिकामा कुपोषणको समस्या देखिने गर्छ । त्यतिमात्र होइन, कुपोषित आमाले कुपोषित बच्चा जन्माउने सम्भावना बढी हुन्छ ।

परिवार कल्याण महाशाखा प्रमुख पोषण अधिकृत लिलाविक्रम अधिकारी स्वास्थ्य मन्त्रालय एक्लैले चाहेर हुदैन नहुने बताउँछन् । उपचार गरे पनि खानपिनले गर्दा कुपोषण हुने उनको भनाइ छ ।

विश्वमै बालबालिकाको मृत्युको प्रमुख कारण कुपोषण रहेको विभिन्न अध्ययनले देखाएका छन् । ल्यानसेट जर्नलका अनुसार विश्वभर ५ वर्षमुनिका ५३ प्रतिशतभन्दा बढी बालबालिकाको मृत्युको अप्रत्यक्ष कारण कुपोषण हो । विगतको तुलनामा पोषणको स्थितिमा सुधार भए पनि तीन तहका सरकारबीच समन्वय अभावका कारण उपलब्धी हासिल गर्न नसकिएको जानकार बताउँछन् ।

नेपालमा पोषणसम्बन्धी थुप्रै नीति, योजना तथा रणनीति बनाइए पनि तिनको कार्यान्वयन फितलो छ । यति धेरै कार्यक्रम हुँदा पनि अहिलेसम्म हामीले बजारमा होइन खेतबारी र भान्साभित्रै पोषण छ भनेर बुझाउन सकेका छैनौ । अनि आधुनिक बन्ने हावा लागेर हामी पनि बजारमा पाइने जंकफुड खुवाएर बच्चालाई कुपोषित बनाइरहेका छौ र हामी पनि बनिरहेका छौ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।