विश्वविद्यालयमा बेथिति : संकायका डिन खोइ ?

पुस १३, २०७९ |नारायण किलम्बू
विश्वविद्यालयमा बेथिति : संकायका डिन खोइ ?

काठमाडौं । तपाईं पत्याउनुहुन्छ ? देशको एउटा विश्वविद्यालयका सबै संकायमा डेढ वर्षदेखि डिन नै छैनन् । योबीचमा नियुक्ति प्रक्रिया पनि अघि बढ्न सकेको छैन । खुला तथा दूरशिक्षाका माध्यमबाट उच्चशिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित नेपाल खुला विश्वविद्यालयमा लामो समयदेखि डीन नहुँदा परीक्षासँगै शैक्षिक, प्रशासनिक समस्या उत्पन्न भएका छन् ।

खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा, विज्ञान, स्वास्थ्य तथा प्रविधि र व्यवस्थापन तथा कानुन गरी तीनवटा संकाय छन् । तिनका २२ वटा शैक्षिक कार्यक्रममा ३५ सय विद्यार्थी अध्ययनरत छन् । तर डेढ वर्षदेखि रिक्त डिन पदमा नियुक्ति प्रक्रिया अगाडि नबढ्दा शैक्षिक क्यालेन्डर कार्यान्वयन, परीक्षा सञ्चालनदेखि नीतिगत र प्रशासनिकसम्मका समस्या उत्पन्न भएका छन् । जसका कारण विश्वविद्यालय नै अस्तव्यस्तको अवस्थामा पुगेको छ ।

विश्वविद्यालयजस्तो ठाउँमा चरम राजनीतिक खिचातानी र भागबण्डा नमिल्दा डिन नियुक्त हुन सकेनन् र विश्वविद्यालयले ८ महिनादेखि बजेटसमेत पारित गर्न सकेको छैन् भने लामो समयदेखि सिनेट बैठक पनि बस्न सकेको छैन । राजनीतिक भागबण्डाकै कारण डिन नियुक्तिमा ढिलाइ भएको स्वयं विश्वविद्यालयका अधिकारीहरु स्वीकार्छन् ।

२०६४ सालमा स्थापना भएको विश्वविद्यालयमा खुला तथा दूरशिक्षाको माध्यमबाट स्नातकदेखि विद्यावारिधिसम्मको पठनपाठन हुँदै आएको छ । विश्वविद्यालयको शैक्षिक गतिविधि र लक्ष्यप्राप्तिमै असर पर्ने भएकाले डिनलगायतका जिम्मेवार पदाधिकारी नियुक्तिमा ढिलाइ गर्नु हुँदैन ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement