आठौं संस्करणको आईसीटी अवार्ड : १४ विधामा अवार्ड, सातै प्रदेशका स्टार्टअपलाई सम्मान

पुस ८, २०८० |कान्तिपुर टीभी संवाददाता
आठौं संस्करणको आईसीटी अवार्ड : १४ विधामा अवार्ड, सातै प्रदेशका स्टार्टअपलाई सम्मान

काठमाडौं । लिभिङ विथ आईसीटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभ’ सम्पन्न भएको छ ।

काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा एक दर्जनबढी प्रि-इभेन्ट र ५ महिनादेखिको छनोट प्रक्रिया र एक महिनासम्म टेलिभिजन कार्यक्रमपछि आयोजना भएको ग्रान्ड फिनालेमा १४ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको हो ।

७०० बढीको अनलाइन आवेदनबाट विभिन्न ५ चरणको छनोटपश्चात विजेताहरु छनोट गर्दै अवार्ड प्रदान गरिएको हो । समारोहमा अन्तर्राष्ट्रिय अवार्डको रुपमा आयोजना भएको ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२३’ को पनि विजेता घोषणासँगै पुरस्कृत गरिएको छ । प्रविधि क्षेत्रका अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरका रुपमा आयोजना भएको कार्यक्रममा यस क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो । कार्यक्रम कान्तिपुर टेलिभिजन र अन्य मिडियाहरुबाट प्रत्यक्ष प्रशारण पनि भएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेको कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले समापन सम्बोधन गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशका मन्त्री कृष्णबहादुर जीसी, प्रतिनिधिसभा सदस्यहरु, पूर्वमन्त्री र सचिवहरु, सरकारी र निजी क्षेत्रका विशिष्ट व्यक्तिहरुले विजेताहरुलाई अवार्ड प्रदान गरेका थिए । इनड्राइभका एसिया प्यासिफिक पीआर प्रमुख पभिट नन्दको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा सहभागी हुन श्रीलंका, भरत, बंगलादेश, भुटान र बेलायतबाट सहभागीहरु आएका थिए ।

यस वर्षको पायोनियर आईसीटी अवार्ड २०२३ पहिलो ई-कमर्स सञ्चालक बालकृष्ण जोशीले प्राप्त गरेका छन् । एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् । यसैगरी प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ एन रेनका अध्यक्ष लोचनलाल अमात्यले प्राप्त गरेका छन् । आन्टरप्रेनर्स आईसीटी अवार्ड यस वर्ष इन्फिकेयरका सीईओ अनुप शेरचनले प्राप्त गरे । नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२३ प्राध्यापक डा. सुरेश मानन्धरले प्राप्त गरेका छन् ।

संस्थागत अवार्ड विधाहरुमा डिजिटल गभर्नेन्स अवार्ड यस वर्ष नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गर्यो । डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) तनहुँको सत्यदेवी माध्यमिक विद्यालय र डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेटट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले प्राप्त गरेको छ ।

स्टार्टअप र इन्नोभेसनका विधाहरुमा यस वर्ष ‘इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३’ यार्सा टेकले प्राप्त गर्यो भने प्रडक्ट आईसीटी अवार्ड क्युक आरपीएले प्राप्त गरेको छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको थियो । हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड २०२३ को उपाधि ‘मनिमित्र’ ले जित्न सफल भएको छ । दक्षिण एसियाली देशहरुलाई लक्षित साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२३ को उपाधि भुटानको समूह मिडियाटेकले प्राप्त गरेको छ ।

यसबाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । यसका लागि केही महिना अगाडि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डस्ट्री भिजिट गराइएको थियो ।

यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेस्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् ।

यसैगरी नागरिक एपले केही समयअघि प्राप्त गरेको वर्ल्ड समिट (डब्ल्यूएसए) अवार्डलाई मन्त्री रेखा शर्माले हस्तान्तरण गरेकी थिइन् । गभर्नेन्स सिटिजन सर्भिस एप्लिकेसनको प्रतिस्पर्धमा नागरिक एपले ४० बढी देशलाई पछि पार्दै डब्ल्यूएसए अवार्ड प्राप्त गरेको थियो । आईसीटी अवार्डले विश्वका विभिन्न प्रतिष्ठित अवार्डसँग पनि सहकार्य गरेको आईसीटी अवार्डका अध्यक्ष तथा डब्ल्यूएसएका नेसनल एक्सपर्ट राजन लम्सालले बताए ।

अवार्डको उद्घाटन सत्रकी प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले कार्यक्रममा नेपाल सरकारले स्टार्टअप र डिजिटल च्याम्पियनहरुलाई प्रतिस्पर्धा गराउँदै डिजिटल नेपालको अभियानमा सामेल गराउने बताइन् । मन्त्री शर्माले डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा गैरसरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंसायोग्य भएको बताइन् ।

समापन कार्यक्रममा अर्थमन्त्री महतले डिजिटल इकोनोमीका लागि आईटी क्षेत्रलाई प्रवर्धन गर्दै जानुपर्ने बताए । आईसीटी अवार्डले गरेको प्रयासले डिजिटल इकोसिस्टमको विकासमा योगदान दिनेछ भन्दै सरकार सधैं सहयोगीका रुपमा रहने महतले बताए । लिभिङ विथ आईसीटीका संस्थापक तथा कार्यक्रमका अध्यक्ष लम्सालले आईसीटी अवार्डले स्टार्टअप इकोसिस्टम विकास र डिजिटल रूपान्तरणमा काम गरिरहेको बताए ।

लिभिङ विथ आईसीटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ ।

अवार्ड विजेतालाई विभिन्न पुरस्कारसमेत प्रदान गरिएको छ । वुमन आइकन आईसीटी अवार्ड विजेतालाई एनसेलले ३ लाख नगद पुरस्कार दिएको छ । स्कुल व्यवस्थापन सफ्टवेयर वेदले डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ (पब्लिक सेक्टर) विजेतालाई पूर्ण रूपमा निःशुल्क आफ्नो सफ्टवेयर उपलब्ध गराउनेछ । यस्तै सम्पूर्ण विजेतालाई बगभीले एक वर्षसम्म निःशुल्क साइबर सुरक्षा सेवा उपलब्ध गराउनेछ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विजेतालाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मास्टर्स ईन आईटीका लागि सात लाखको छात्रवृत्ति प्रदान गरेको छ । यसका साथै विजेतालाई डिश होमले २०० एमबीपीएसको इन्टरनेटसमेत निःशुल्क उपलब्ध गराएको छ ।

आईसीटी अवार्ड २०२३ मा १४ स्वदेशी र ३ अन्तर्राष्ट्रिय विज्ञ जुरीले ४ महिनासम्म २५ वटा बढी मिटिङ सञ्चालन गर्दै छनोट प्रक्रियालाई सम्पन्न गरेका थिए । यसैगरी १३ जना विशिष्ट सल्लाहकार समिति पनि गठन गरिएको थियो ।

आईसीटी अवार्डको प्रि-इभेन्ट क्याम्पेनको रूपमा सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया, स्टार्टअप एन्ड आइडिया फेस्ट, बुटक्याम्प तथा मेन्टरिङ, इन्डस्ट्री भिजिट, फिल्ड भिजिट, स्पिड डेटिङ तथा प्रिजेन्टेसन, कान्तिपुर टीभीबाट विशेष कार्यक्रम शृंखलालगायत आधा दर्जन बढी कार्यक्रम सञ्चालन भएका थिए । अपग्राड आईसीटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभमा एनसेल कनेक्टेड पार्टनरका रुपमा रहेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ, न्यास आईटीलगायतको सहकार्य रहेको थियो ।

यस्तै कार्यक्रमको डिजिटल पेमेन्ट पार्टनरमा नेपाल पे, भोटिङ पार्टनरमा हाम्रो पे, एजुकेसन पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, साइबर सेक्युरिटी पार्टनरमा बगभी, नलेज पार्टनरमा ग्लोबल कलेज, एडटेक पार्टनरमा वेद, इको सिस्टम पार्टनरमा इन्फोडेभलपर्स, इन्टरनेट पार्टनरमा डिश होम फाइबरनेटलगायतको सहकार्य थियो ।

यसबाहेक कार्यक्रमलाई ग्लोबल आईएमई बैंक, टेक स्पायर कलेज, फ्युज मेसिन्स, एमिनेन्स वेज, कोइली र कोड हिमालय सहकार्य थियो ।

यी हुन आईसीटी अवार्ड २०२३ का विजेता :

इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड : यार्सा टेक प्रालि

प्रडक्ट आईसीटी अवार्ड : क्विक आरपीए

राइजिङ स्टार आईसीटी अवार्ड : ब्ल्यांकसर

हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड : मनिमित्र

एनसेल वुमन आइकन आईसीटी अवार्ड : सुनैना घिमिरे पाण्डे

पायोनियर आईसीटी अवार्ड : बालकृष्ण जोशी

आन्टरप्रेनर आईसीटी अवार्ड : अनुप शेरचन

नेपाली डायस्पोरा आईसीटी अवार्ड : प्रा.डा. सुरेश मानन्धर

डिजिटल गभर्नेन्स आईसीटी अवार्ड : नेपाल स्टक एक्सचेन्ज लिमिटेड

डिजिटल सर्भिसेस आईसीटी अवार्ड : तिलगंगा आँखा प्रतिष्ठित

डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) : सत्यवती माध्यमिक विद्यालय, तनहुँ

साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड : भुटानको समूह मिडियाटेक

सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु : (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) : ट्रयाक अन नेपाल, एड्स बी मिडिया, हर्टसन टेक्नोलोजी, रेस्ट्रो एक्स, टुना टेक्नोलोजी, बायो कर्णाली एरोमा र निम इन्फोसिस ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.