‘रेमिट्यान्सले मानो र छानो फेरियो’

वैशाख ९, २०८१ |उपेन्द्र ठाकुर
‘रेमिट्यान्सले मानो र छानो फेरियो’

वीरगन्ज । स्वदेशमै गरिखाने वातावरण गुम्दै गएपछि वैदेशिक रोजगारी मुलुकका अधिकांश युवाको रोजाइ बनेको छ । छानो र मानो फेर्ने चिन्ता बोकेर विदेशिने गरेका युवाले विदेशमा दु:ख गरेर कमाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई भरथेग त गरेको छ नै, परिवारको दुःख र कष्ट पनि हटेका छन् ।

दिनभरी काम गर्दा पनि मुखमा माड लगाउन गाह्रो भएपछि काभ्रे तालुगााकी तारा हुमागाईं भात खान बसाई सरेर बाराको निजगढ झर्नुभएको छ । दुःख कष्ट गरी काठको सानो घर बनाइ दुई छोरी र एक छोरालाई जेनतेन हुर्काए पनि त्यसपछिको यिनको जीवन त्यति सहज भएन । घर खर्च धान्न निकै सकस भएपछि छोरालाई विदेश पठाउनबाहेक कुनै विकल्प देख्नुभएन । चार वर्षअगाडि आफ्नो एक्लो छोरा सूर्य हुमागाईं अध्ययन भिसामा जापान उडेपछि त्यसपछिको दिन सहज बन्दै गएको उहाँको भनाइ छ ।

आफ्नो अध्ययन र बसाइँ खर्च कटाएर छोराले मासिक एक लाख रुपैयाँसम्म पठाउने गरेको बताउने तारा सहज रुपले आफ्ना दुई छोरीहरुको बिहेवारी मात्रै गर्नुभएन, पहिले बस्दै आएको काठको पुरानो घरबाट अहिले दुईतले पक्की घरमा सरिसक्नुभएको छ ।

जापानमा काम गरेर सूर्यले आमालाई नियमित पैसा मात्र पठाउनुभएको छैन दिनदिनै फोन गरेर सुखदु:खको कुरा गर्ने साथी पनि बन्नुभएको छ । सूर्यकी पत्नी पनि जापान जाने तयारीमा हुनुहुन्छ । अहिले उहाँ काठमाडौंमा बसेर जापानी भाषा सिक्दै हुनुहुन्छ ।

विदेशबाट छोराले कमाएको पैसाले घरनजिकै थोरै जग्गा पनि जोड्न सफल ताराले त्यसमा धान र मकै खेती गर्नुहुन्छ । छोराले विदेशमा राम्रै कमाए पनि आफ्नो पुर्खाले गर्दै आएको कर्मलाई उहाँले छाड्नुभएको छैन ।

विदेशमा दु:खजिलो गरेर सूर्यले झै| धेरैले कमाएको रकम स्वदेश पठाउँदा रेमिटान्सको माध्यमबाट देशको अर्थतन्त्रमा मद्दत त पुगेको छ नै, उनीहरुको आफ्नै परिवारको मानो र छानो फेर्ने काम समेत गरेका छन् ।

यो पनि...

रेमिट्यान्सले फेरियो कल्पनाको परिवारको जीवनशैली


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement