रेमिट्यान्सले फेरियो कल्पनाको परिवारको जीवनशैली

वैशाख ९, २०८१ |कमला पाख्रिन
रेमिट्यान्सले फेरियो कल्पनाको परिवारको जीवनशैली

सिन्धुपाल्चोक । आर्थिक अवस्था कमजोर र बेरोजगार भएकै कारण अभावले गाँजिएकाहरुको विदेशमा गरेको परिश्रमका कारण अहिले जीवनशैलीमा परिवर्तन आएको छ । वैदेशिक रोजगारी गएकाहरुले पठाउने रेमिट्यान्स परिवारको अभाव परिपूर्ति गर्न मात्रै होइन, उनीहरूको जीवन नै रुपान्तरण गर्न फलदायी देखिएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ छापकी कल्पना श्रेष्ठकी श्रीमान् विनोद वैदेशिक रोजगारका लागि कुवेतमा हुनुहुन्छ । श्रीमान विनोद नेपालमै हुँदा आर्थिक समस्याका कारण उनीहरुले धेरै समय अभावमा जीवन गुजार्नु परेको थियो । तर अहिले विनोदले पठाएको रेमिट्रयान्सले उहाँलाई सहज भएको छ । यता कल्पना कलेज र छोरा कविर बोर्डिङ स्कुलमा पढ्नुहुन्छ । घर बनाएको ऋण तिरेर केही रकम बचत पनि उहाँहरुले गर्नुभएको छ ।

छुट्टीमा घर आउने-जाने गरिरहने विनोदको ६ वर्षको कमाइले घर परिवार दुःख हटेको उनको आमाले महसुस गर्नुभएको छ । कल्पना चौरातामै काम गर्नुहुन्छ । विनोदले विदेशमा दु:ख गरे पनि परिवारमा छाएको खुसीले दंग हुनुहुन्छ । यता श्रीमती, छोरा र आमा बुवा खेती-किसानी गर्दै बसेका छन् । विनोद वैदेशिक रोजगारमा गएसँगै परिवारमा खुसी छाएको भन्दै आमा टंककुमारी हर्षित हुनुहुन्छ ।

वैदेशिक रोजगारीको आम्दानीले विनोदको जीवनस्तर राम्रो बनेको छ। भनेजस्तो रोजगार नपाउँदा पैसा कमाउन भौतारिएर हिँडेका विनोदले परिवारका लागि कुवेतमा राम्रो आम्दानी गरिरहनुभएको छ । 

स्वदेशमा रोजगार नपाएपछि रोजीरोटीका लागि विदेशिनेहरुको जीवनमा मात्र नभई उनीहरुले घरपरिवारको लागि पठाएको रेमिट्यान्स मुलुकको अर्थतत्रन्त्र चलायमान बनाउन समेत सहयोग पुगेको छ । 


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।