बुटवल । सबेरै उठेपछि बुटवलकी सीता दर्जीको दैनिकी राजमार्ग चौराहामा रहेको सार्वजनिक शौचालय सरसफाइमा जान्छ । जीवनवृत्तिका लागि उनीले यो पेसा अपनाएको दुई दशक भएछ । दुई सन्तानकी आमा यिनलाई सात वर्ष अघि श्रीमानको मृत्युपछि पारिवारिक सबै जिम्मेवारी काँधमा पर्यो ।
घरपरिवार चलाउन मौज्दात केही नभएकाले शौचालयमा दिनरात खटिँदै रकम बचतमा उनी लागिन् । दैनिक हुने आम्दानीबाट केही रकम सुप्रिम सहकारीमा समेत जम्मा गर्न थालिन । यसरी शौचालय सफा गरेरै उनले तीन लाख रकम सहकारीमा बचत गरेकी थिइन् । जोरजाम गरी सञ्चय गरेको यस्तो रकम जीवनको कठिन समयमा प्रयोग गर्न नपाउँदा उनको बिचल्ली भएको छ ।
सवारी पिच्छे हातमा फलफूल लिएर बेच्दै हिँडेका व्यापारी पीताम्बर भट्टराई पनि सुप्रिम सहकारीका पीडित हुन् । धूलो मैलो, घामपानी केहीलाई वास्ता नगरी जीवन सहज बनाउन दिनरात मिहिनेत गरेर केही रकम बचत गरेका थिए । तर, यी मिहिनेत हातले गरेको परिश्रमको फल भने सहकारीका सञ्चालकहरूले चाखी रहेका छन् ।
धरौटी नबुझाएपछि दीपेश पुन र नवीन अछामी कारागार चलान
धेरै ब्याज दिने प्रलोभनमा परेका यी ठेला व्यवसायीहरूले दिनरातको परिश्रमबाट कमाएको रकमबाट केही रकम जम्मा गर्दै आएका थिए । ६, सात वर्षदेखि जम्मा गर्दै आएका यहाँका अधिकांश ठेला व्यापारी हरेकको पाँच लाख बढी रकम सुप्रिम सहकारीमा जम्मा छ । एक वर्षदेखि बचत रकम फिर्ता नपाउँदा परिवार चलाउनै मुस्किल भएको बताए ।
दैनिक जीविका गरेर घर गर्ने यस्ता अधिकांश श्रमिकहरू सहकारी पीडित छन् । दैनिक श्रम नगरी गुजार नटर्ने भएकाले काम छोडेर सहकारीको विरोधमा समेत हिँड्न सक्दैनन् । अझ यस्ता धेरै बचतकर्ताहरूबाट आफू ठगिएको भनेर उजुरी समेत आएको छैन । आठ हजार बचतकर्तामा मात्र एक हजार आठ सय २८ जनाको मात्र उजुरी परेको छ । त्यसैले वित्तीय साक्षरता नभएकाले यस्ता बचतकर्ताहरूको खोजी हुनुपर्छ ।