सुधारको पर्खाइमा नेपालको अर्थतन्त्र

बैंकमा थुप्रिएको ५ खर्ब रकम लगानी गर्न सके अर्थतन्त्रमा सुधार सम्भव
पर्यटन र जलविद्युत्‌मा जागेको आशा मर्न नदिन निजी क्षेत्रको सुझाव
वैशाख २, २०८१ |सुदिल पोखरेल
सुधारको पर्खाइमा नेपालको अर्थतन्त्र

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अहिले साढे ५ खर्ब बराबरको लगानीयोग्य रकम छ भने १२ महिना आयात धान्न पुग्ने सञ्चिति उपलब्ध छ । यो तथ्यांक हेर्दा जति सकारात्मक छ, त्यति नै नकारात्मक पनि छ । किनकि बैंकमा लगानी योग्य रकम र सञ्चिति हुनु पनि पर्छ र यो थुप्रिराख्नु भन्दा चलायमान पनि हुनुपर्छ । तर हाम्रो बैंकमा रहेको रकम चलायमान हुन सकिरहेको छैन । नयाँ वर्ष २०८१ मा यो अवस्थाको अन्त्य हुनैपर्छ । बैंकको ब्याजदर घट्दै गएको छ । पर्यटन क्षेत्रसमेत कोरोना महामारीअघिकै अवस्थामा पुगेको छ । जसका कारण नयाँ वर्षमा व्यवसाय तथा उद्यम गर्नेलाई मात्रै हैन सरकारलाई पनि विकास निर्माणका काम अघि बढाउन सहज हुने देखिएको छ ।

बैंकहरुमा अहिले साढे ५ खर्ब बराबरको लगानीयोग्य रकम छ । व्याजदरपनि सस्तो हुँदै गएको छ । कर्जाको ब्याजदर अहिले औसत १० दशमलव सात आठमा झरेको छ, जुन गत वर्षको यही समयमा १३ दशमलव शून्य तीन प्रतिशत थियो । ब्याजदर कम हुँदै गएकाले आगामी दिनमा कर्जा लिएर उद्यम गर्ने अवसर पनि देखिएको छ । गत वर्ष फागुनसम्ममा पर्यटनबाट ३६ अर्ब आम्दानी भएकोमा यो वर्ष बढेर ५५ अर्ब पुगेको छ । यसकारण पर्यटनसँगै नेपालमा सूचना प्रविधि र उर्जामा लगानी गर्ने वातावरण बनेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे बताउँछन् ।

भारत र नेपालबीच १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता भइसकेकाले नेपालमा अब उर्जा क्षेत्रमा पनि लगानीका अवसर खुलेको छ । अबको एक वर्षमा देशमा झन्डै एक हजार मेगावाट बराबरको बिजुली थपिँदैछ । यसले मुलुकलाई हिउँदमा सहज हुनेमात्रै होइन, वर्षातमा भारतलाई बिजुली बेचेर विदेशी मुद्रा आर्जनसमेत थपिनेछ । 

२०७८ पुसमा मुलुकसँग ६ दशमलव ६ महिनाको मात्रै आयात धान्न सक्ने अर्थात ११ खर्ब ६५ अर्ब थियो । मुलुकमा घटिरहेको सञ्चिति रोक्न राष्ट्र बैंकले ब्याजदर बढाउने नीति अंगालेपछि यो अहिले हरेक महिनाजसो बढेर गएको छ । गत वर्षको फागुनमा ९ महिनाको आयात धान्ने गरी १४ खर्ब पुगेकामा अहिले यस्तो सञ्चिति १८ खर्ब ७२ अर्ब छ । जसले १२ दशलमव चार महिनाको आयात धान्न सक्छ । अब सरकारले बिकासका ठूला आयोजना अघि बढाएर त्यसमा आवश्यक पर्ने औजारसमेत सहज रुपमा खरिद गर्न सक्ने अवस्था छ ।

विगतमा सहकारी सञ्चालकहरुले बचतकर्ताबाट जम्मा गरेको रकम घरजग्गामा लगानी गरे । तर, घरजग्गा व्यवसाय ओरालो लाग्दा उनीहरुले बचतकर्ताको रकम तिर्न सकेनन् । यसबाट पाठ सिक्दै अब उत्पादनमुलक क्षेत्र र ब्यापारमा मात्रै लगानी गर्ने सोचमा व्यवसायीहरु छन् ।

गत वर्ष ७ दशमलव चार चार प्रतिशतले बढेको महंगी ४ दशमलव आठ दुई प्रतिशतले घटेको छ । तर, घ्यू, तेल र यातायातमा महंगी घटेपनि अन्य क्षेत्रमा भने भाउ बढेको छ । अब नयाँ वर्षमा नागरिकलाई राहत दिने गरी महंगी नियन्त्रण गर्नुपर्नेछ । साथमा, स्वदेशी तथा विदेशी लगानी आकषिर्त गर्न जतिसक्दो चाँडो लगानमैत्री कानुन संशोधन गरे मुलुकको अर्थतन्त्र नयाँ वर्षमा थप सहज अवस्थामा पुग्नेछ । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।