नीतिगत सुधार नहुँदा वैदेशिक लगानी बढ्नै सकेन, ७ महिनामा ५ अर्ब भित्रियो

स्वार्थप्रेरित आयोजना र अनावश्यक अवरोधले लगानीकर्ता निरुत्साहित
चैत्र १४, २०८० |सुदिल पोखरेल
नीतिगत सुधार नहुँदा वैदेशिक लगानी बढ्नै सकेन, ७ महिनामा ५ अर्ब भित्रियो

काठमाडौं । वैशाख १६ र १७ गतेका लागि तोकिएको लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ । तर जुन रफ्तारमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन । अर्कोतर्फ यो आर्थिक वर्षको लगानी हेर्ने हो भने अवस्था निराशाजनक छ । चालु आर्थिक वर्षको माघसम्म वैदेशिक लगानी जम्मा पाँच अर्ब १९ करोड रुपैयाँ आएको छ । जबकि कोरोना महामारी भएकै आर्थिक वर्षको सुरुवाती सात महिनामा १४ अर्ब वैदेशिक लगानी भित्रिएको थियो ।

कोरोना महामारीभन्दा अघिसम्म नेपालमा वार्षिक १९ अर्ब हाराहारीमा वैदेशिक लगानी आउने गरेको तथ्यांक छ । महामारी सुरु भएकै वर्ष ०७६/७७ मा १९ अर्ब ४७ करोड वैदेशिक लगानी आएको थियो । त्यस वर्ष सुरुका सात महिनामा मात्रै १४ अर्ब ३८ करोड भित्रिएको थियो । तर त्यसपछि भने विश्वभरमा आर्थिक शिथिलता हुँदा विस्तारै लगानीमा कमी आयो । पछिल्लो समय छिमेकी देशमा वैदेशिक लगानीमा सुधार देखिए पनि नेपालमा भने नीतिगत सुधार नहुँदा अपेक्षित रुपमा बढ्न सकेको छैन ।

आर्थिक वर्ष ०७८/७९ को माघमसान्तसम्म १६ अर्ब ५४ करोड आएकामा गत वर्षको सोही अवधिमा दुई अर्ब ८४ करोड मात्रै भित्रिएको थियो । यो वर्षको माघ मसान्तसम्म पाँच अर्ब १९ करोड आउँदा गत वर्षभन्दा केही बढेको देखिए पनि पुरानो अवस्थामा फर्कन सकेको छैन ।

पछिल्लो समय वैदेशिक लगानी गरेका उद्यमी व्यवसायीहरुले राम्रो नाफा गरेर नेपालबाट लाने लाभांश भने बढेको छ । तर लाभांश बढेको कुराको न सरकारले प्रचार गर्न सकेको छ न त थप लगानीकर्ता नै आकर्षित भएका छन् । आयोजना निर्माणका क्रममा रानजीतिक स्वार्थ तथा कमिसनको स्वार्थप्रेरित स्थानीय अवरोध र सरकार पनि यसैमा अलमलिएर स्पष्ट दृष्टिकोण नबनाउँदा लगानीकर्ता निरुत्साहित भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई बताउँछन् ।

सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा नेपालमा लगानी गर्ने वातावरण कस्तो छ भनेर जानकारी दिने सूचक कन्ट्री रेटिङ पनि तयार पार्न सकेको छैन । यसैगरी लगानी भित्र्याउन संशोधान गर्नुपर्ने १० वटा कानुनको काम पनि अघि बढेको छैन ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement