बजारमा पैसा छैन, त्यसो भए कहाँ छ ?

चैत्र ११, २०८० |सुदिल पोखरेल
बजारमा पैसा छैन, त्यसो भए कहाँ छ ?

काठमाडौं । आममानिसको किन्ने क्षमता अर्थात् क्रयशक्ति कमजोर भएका कारण बजारमा वस्तुको माग बढ्न सकेको छैन । बजारमा माग नै नभएपछि उद्योग पनि कम क्षमतामा चलेका छन् भने कैयौं व्यवसायी सटर बन्द गरेर व्यवसायबाट पलायन भएका छन् । बैंकमा ६ खर्ब ३५ अर्बभन्दा बढी रकम थुप्रिएको छ । तर, बजारमा पैसा छैन ।

जागिर वा व्यवसाय गरेर आर्जन भएको रकम तपाईं हामीले बैंक तथा सहकारीमा राख्ने गरेका छौं । अहिले ६१ खर्ब ८८ अर्बभन्दा धेरै रकम बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तमा बचत छ । त्यस्तो रकम वाणिज्य बैंकमा मात्रै ५४ खर्ब ७४ अर्ब छ । सर्वसाधारण बचतकर्ताले जम्मा गरेको रकमको ५० खर्ब ८२ अर्ब बैंक तथा वित्तिय संस्थाबाट कर्जाको रुपमा बजारमा पुग्दा थप ऋण दिन मिल्ने ६ खर्ब ३५ अर्ब अहिले पनि बैंकमै छ । यो त भयो बैंकमा जम्मा भएको पैसा ।

सर्वसाधारणले सहकारीमा पनि रकम जम्मा गर्ने गरेका छन् । निश्चित समूह मिलेर अर्थोपार्जनका लागि रकम जुटाउने सहकारीको अवधारणा हो । तर नेपालमा आफूले सञ्चालक नचिने पनि उच्च ब्याजको लोभमा सहकारीमा पैसा राख्ने प्रवृत्ति कायमै छ । ३१ हजार ३७८ सहकारीमा सर्वसाधारणले चार खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ जम्मा गरेका छन् ।

बैंकहरुले रकम जम्मा गर्ने बेलामा स्रोत खोज्छन् । बैंकिङ प्रक्रिया सरकारी हिसाबकिताबको हिस्सासमेत बन्ने भएकोले स्रोत खुलाउन नसकेको रकम भने सर्वसाधारण र केही व्यापारी तथा कर्मचारीले सहकारीमा राख्ने गरेका छन् । केही व्यापारीले भने घरमै राख्छन् ।

कर छली, कर्मचारीले लिने घुस, बिचौलियाले हात पार्ने मोटो रकम समेत घरमै थुपार्नेदेखि सापटीका रुपमासमेत अवैध कारोबारमै रहन्छ । अहिले त्यस्तो रकम धेरै हुन्डीमार्फत विदेशिने पनि गरेको छ । लुकेर रहेको र वैध प्रक्रियामा नरहेको यस्तो रकम सरकारले निश्चित कर लगाएर बाहिर ल्याउने प्रयास गरिहेको छ ।

राष्ट्र बैंकले छापेको पैसामध्ये पाँच खर्ब ४७ अर्ब रुपैयाँबराबरको नोट व्यापारिक घराना तथा सर्वसाधारणसँग छ । यसमध्ये केही रकम व्यापारिक घरानाले दैनिक कार्य चलाउन प्रयोग गर्छन् । केही सर्वसाधारणले घरमै राख्ने गरेका छन् । केही रकम सामान किन्नेभन्दा बढी प्रतितपत्र खोलेर विदेशिने गरेको छ । तर, यस्तो रकम कति विदेशिएको छ भन्ने तथ्यांक सरकारसँग छैन ।

सरकारले उठाएका विभिन्न शुल्क तथा राजस्व सरकारी ढुकुटीमा राख्ने गर्छ, जुन अहिले दुई खर्ब १५ अर्ब रुपैयाँ छ । यो रकम तलब खुवाउन, भुक्तानीजस्ता सरकारी खर्चमा प्रयोग गरिन्छ । यसबाहेक १८ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा राष्ट्र बैंकसँग सञ्चिति छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।