पोखरा बन्यो देशकै पर्यटकीय राजधानी, मुख्य चुनौती- पूर्वाधार विकास

ठूला आयोजना सम्पन्न गर्न सरकारलाई दबाब
आर्थिक लाभ बढ्ने व्यवसायीको अपेक्षा
चैत्र ४, २०८० |भुपाल गुरुङ
पोखरा बन्यो देशकै पर्यटकीय राजधानी, मुख्य चुनौती- पूर्वाधार विकास

पोखरा । लामो समयको बहस र अध्ययनपछि पोखरालाई सरकारले देशको पर्यटकीय राजधानी घोषणा गरेको छ । दिगो पर्यटन विकासमार्फत विश्व बजारमा ब्रान्डिङ गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त पहलमा पोखरालाई आइतबार पर्यटकीय राजधानी घोषणा गरिएको हो । यो घोषणासँगै पर्यटन क्षेत्र थप चलयमान हुने विश्वास गरेका पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।

फेवाताल किनारमा आइतबार बेग्लै रौनक थियो । विशेष समारोहमा सरिक हुन पोखरा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल छमछमी नाचे, दर्शकदीर्घाबाट तालीको वर्षा भयो । नेताहरुले कम्मर मर्काइरहेको मञ्च कुनै सांस्कृतिक कार्यक्रमका लागि सजिएको नभई अनुपम सौन्दर्यको खानी पोखरा सहरलाई देशकै पर्यटकीय राजधानी घोषणा समारोह थियो । प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटनको राजधानी सहरको औपचारिक घोषणा गर्दै आवश्यक पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदार र निजी क्षेत्रको लगानी आकर्षित गर्न पहल गर्ने वाचा गरे ।

प्राकृतिक, सांस्कृतिक, साहसिक क्षेत्रको संगम पोखरालाई पर्यटकीय राजधानी घोषणाले यो क्षेत्रमा उत्साह ल्याएको छ । यसले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा थप ब्रान्डिङ हुने हुनाले पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिने नेपाल एसोसिएसन अफ टुर एन्ड टाभल एजेन्ट (नाट्टा) पोखराका अध्यक्ष हरिराम अधिकारीको विश्वास छ ।

पोखराको पर्यटन प्रवर्द्धनले गण्डकी प्रदेशका अन्य जिल्लामा समेत पर्यटकीय गतिविधि बढ्न गई पर्यटन क्षेत्रमा लगानी र आर्थिक लाभ बढ्ने अपेक्षा छ । यो घोषणाले प्रदेशमा बन्दै गरेका ठूला आयोजनाहरु समयमै सम्पन्न गर्न र नयाँ नीति तथा योजना बनाउन सरकारलाई दबाब बढ्ने पोखरा पर्यटन परिषद्‌का अध्यक्ष पोमनारायण श्रेष्ठको बुझाइ छ ।

पर्याप्त पूर्वाधार विकासबिनै पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको भनी आलोचना नभएको होइन । सरकारले गठन गरेको विज्ञसहितको अध्ययन समितिले पनि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा पर्यटन विकासको काम गर्नुपर्ने औंल्याएको छ । तीनै तहका सरकारसामु ती योजना कार्यान्वयन गर्नुपर्ने चुनौती भने छ ।

यो पनि...

पोखरामा आजदेखि रातभर डिस्को, दोहोरी र लाइभ म्युजिक खुल्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटै नियमित उडान हुन्छ : प्रधानमन्त्री दाहाल

पोखरा पर्यटनको राजधानी घोषणा: प्रकाश सपुतको गायन, प्रधानमन्त्रीको नृत्य

प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट धोका भएकाले नयाँ समीकरण बनाएका हौँ’


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।