पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित उडान हुन्छ : प्रधानमन्त्री दाहाल

चैत्र ४, २०८० |भुपाल गुरुङ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित उडान हुन्छ : प्रधानमन्त्री दाहाल

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित उडान हुने बताएका छन् । आज (आइतवार) पोखरामा पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकार सम्मान समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले नियमित उडान हुने बताएका हुन् ।

 प्रधानमन्त्री दाहालले आफ्नो चिन र भारत भ्रमणका क्रममा उडानबारे समझदारी बनेको समेत दाबी गरे ।  उनले विमानस्थल निर्माणका लागि चिनको करिब २२ अर्ब ऋण सहयोग अनुदानमा परिणत गर्न तर्फ ध्यान रहेको समेत बताए ।

प्रधानमन्त्री दाहालले मिडियाको व्यवसायीक र संस्थागत विकासका लागि राष्ट्रिय सेवा मुलक उद्योग सरह मान्यता गर्ने प्रतिबद्धतासमेत गरे । सरकार सूचना र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने गरी आवश्यक पुर्वाधार निर्माण, कानुनी र व्यवहारीक सुनिश्चिता गर्न प्रतिवद्ध रहेको उनको उनको भनाइ छ ।

यसैबीच प्रजातन्त्रका सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार दिपेन्द्र श्रेष्ठ र स्वर्गीया त्रिभुवन पौडेल मरणोपरान्त पुरस्कारबाट सम्मानित भए । पुरस्कारको राशि एक लाख नगद रुपैयाँ रहेको थियो ।  


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।